मन्त्री भएपछि बिग्रिन्छ कि भन्ने छ, चिन्तालाई म अवसरमा परिणत गर्छु : उपप्रधानमन्त्री लिङ्देन

पाँच वर्षे रणनीतिक योजना बनाएर काम गर्ने दावी


३ माघ २०७९, मंगलवार
Rajendra lingden padbhar scaled

काठमाडौँ । नव नियुक्त उपप्रधानमन्त्री एवम् ऊर्जा, सिंचाइ तथा जलस्रोतमन्त्री राजेन्द्र लिङ्देनले पदभार ग्रहण गरेका छन् । उपप्रधानमन्त्री पदको शपथ लिए लगत्तै पशुपतिनाथको दर्शन गरेर उनले सिंहदरवारस्थित मन्त्रालय पुगेर मंगलबार दिउँसो पदभार ग्रहण गरेका हुन् ।

कार्यभार सम्हाल्दै लिङ्देनले ऊर्जा, जलस्रोत र सिंचाइ क्षेत्रको आवश्यकता र प्राथमिकता निर्धारण गर्नका लागि तीन सदस्यीय कार्यदल बनाउने पहिलो निर्णय पनि गरे । विगतका कामको अनुभवको अध्ययन गर्दै मुलुकको आवश्यकता र प्राथमिकताको आधारमा मन्त्रालयको कार्य सम्पादन गर्न आफूले ऊर्जा, जलस्रोत र सिंचाइ क्षेत्रको पाँच वर्षे रणनीतिक योजना बनाएर काम गर्न सो कार्य दल बनाउने पहिलो निर्णय गरेको नवनियुक्त उपप्रधानमन्त्री लिङ्देनले बताए ।

rajendra lingden 1

‘हामीले यो मन्त्रालयअन्तर्गत हुने कामहरूको बारेमा योजनाबद्ध ढंगले कामलाई अगाडि बढाउनका लागि विगतमा भएका कामहरूको अनुभव समेतलाई ध्यानमा राखेर ती सबैलाई अध्ययन गर्दै आगामी ५ वर्षमा ऊर्जा, जलस्रोत र सिंचाइको क्षेत्रमा हामीले योजनावद्ध ढंगले प्राथमिकतामा राखेर गर्नुपर्ने कामहरु के–के हुन ? र, कसरी हामी अगाडि जान सक्छौँ ? हाम्रो आवश्यकता र प्राथमिकता निर्धारण गर्न र पाँच वर्षे एउटा रणनीतिक योजना बनाउनका लागि एउटा कार्य दल बनाउने निर्णय अहिले गरेका छौं । मन्त्रालयकै सहसचिवको नेतृत्वमा तीन सदस्यीय कार्यदल बनाएका छौं,’ उनले भने ।

rajendra lingden 2

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको मन्त्रालयको जिम्मेवारी पाउनु आफ्ना लागि एउटा महत्वपूर्ण अवसर भएको उनले बताएका छन् । ‘भन्नेहरुले सरकारमा गयो कि बिग्रिहाल्छ जानै हुँदैन है राजेन्द्र लिङ्देन जस्ता मानिसहरु भन्थे । नेपालको सन्दर्भमा सरकार जानु, मन्त्री हुनु भनेको नै चुनौतीपूर्ण जस्तो ठानिन्छ । किनकि त्यहाँ गएपछि मान्छे बिग्रिन्छ नै भनेर । त्यसकारण नबिग्रेका मानिसहरु त्यहाँ जानु हुन्न भन्ने मेरो शुभेच्छुकहरुले बिहानसम्म पनि सुझाव दिइरहनु भएको थियो । लाग्छ, यो चुनौतीपूर्ण छ । तर म यसलाई अवसरमा परिणत गर्छु । मलाई त्यो दृढ विश्वास छ,’ उनले भने ।

नवनियुक्त उपप्रधानमन्त्री लिङदेनले आफूले जिम्मेवारी लिएको मन्त्रालयको काम चुनौतिपूर्ण रहे पनि त्यसलाई अवसरमा बदल्ने दृढता समेत व्यक्त गरेका छन् । उपप्रधानमन्त्री लिङ्देनसहित राप्रपाबाट मन्त्री भएका सबैले राष्ट्रपतिबाट शपथ लिएलगत्तै पशुपतिनाथको दर्शन गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७