प्रेमप्रसादको आत्मदाह : गृहले बनायो सहसचिव नेतृत्वमा छानबिन समिति


१२ माघ २०७९, बिहीबार
griha mantralaya

काठमाडौं । आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका इलामका प्रेमप्रसाद आचार्यले उठाएका विषयमा छानबिन गर्न गृह मन्त्रालयले छानविन समिति गठन गरेको छ ।

गृह मन्त्रायका सह–सचिव नारायणप्रसाद रिसालको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरिएको हो । अर्थ मन्त्रालयका उपसचिव, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव, श्रम रोजगार तथा सामजिक सुरक्षा मन्त्रालयका उपसचिव, नेपाल प्रहरीबाट प्रहरी उपरिक्षक र राष्ट्रिय अनुसन्धान विभागका उप–अनुसन्धान निर्देशक सदस्य रहने गरि समिति गठन भएको छ ।

आत्मदाहको प्रयास गरेका आचार्यले सामाजिक सञ्जालमा उठाएका सबै विषयमा यथाशीघ्र छानबिन गरी प्रतिवेदन तयार पार्न र त्यससम्बन्धमा सरकारले के के गर्नुपर्ने हो सुझाव तयार पार्ने कार्यादेश समितिलाई दिइएको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले आचार्यको विषयमा छानबिन गर्न र यथाशीघ्र प्रतिवेदन तयार पार्न गृह मन्त्रालयलाई जिम्मेवारी दिएको थियो । आत्मदाह गर्नुअघि आचार्यले सामाजिक सञ्जालमार्फत आफूले व्यापार व्यवसाय गर्दा झेल्नु परेका समस्यालाई उल्लेख गरेका थिए ।

आचार्यले उठाएका मुद्दाबारे सरकारले के के गर्नुपर्ने हो सुझाव तयार पार्ने गरी समितिलाई कार्यादेश दिइएको गृहमन्त्री रवि लामिछानेको सचिवालयले जनाएको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले आचार्यको विषयमा छानबिन गर्न र यथाशीघ्र प्रतिवेदन तयार पार्न गृह मन्त्रालयलाई जिम्मेवारी दिएको थियो । आचार्यको निधनपछि कीर्तिपुरस्थित वर्न अस्पताल पुगेर बुधबार अपरान्ह उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेले उनका परिवारका सदस्यहरुलाई भेटेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७