राष्ट्रपतिमा आफूलाई मत माग्दै सांसदहरुलाई पौडेलको पत्र


१८ फाल्गुन २०७९, बिहीबार
Ramchandra Poudel

काठमाडौँ । राष्ट्रपति पदमा आफूलाई मत हाल्न उम्मेदवार रामचन्द्र पौडेलले सांसदहरूलाई पत्र पठाएका छन् । राष्ट्रपतिको पदमा आफूलाई मतदान गर्न अनुरोध गर्दै उनले वर्तमान संविधानको अक्षर र मर्मको परिपालना गर्दै परिवर्तनको जगेर्ना गर्ने अठोट समेत व्यक्त गरेका छन् ।

‘बाटो‚ बिजुली‚ पानी, शिक्षा, स्वास्थ्य, सञ्चार गाउँ–गाउँमा पुगिसक्दा पनि त्यहाँबाट बसाइँ सर्ने क्रम नरोकिएको र देशबाटै प्रतिभा र जनशक्तिको पलायन बढ्दै गएको अवस्थामा गाउँ–गाउँमै रोजगारी र आम्दानीको अवस्था कसरी सिर्जना गर्ने भनेर चिन्तित छु’, उनले लेखेका छन् ।

पत्रमा राष्ट्रपतिका उम्मेदवार पौडेलले आफूले नेपालको वास्तविकतामा आधारित विकासको नमूना अपनाउन ुपर्छ भन्ने ठानेको बताएका छन् । राजनीतिक विचारधाराको द्वन्द्वमा अल्मलिन नपरोस् भनेर समाजवादको सार ‘निमुखालाई न्याय र विपन्नलाई आय’ सबैको साझा हुन सक्नेतर्फ इंगित गर्दै उनले नेपाली जनतामा खुशीयाली ल्याउने विकास हासिल गर्ने मुख्य आधार स्थायित्व र सुशासन हो भन्नेमा आफ्नो अटल विश्वास रहेको समेत उल्लेख गरेका छन् ।

‘सबै धर्म, संस्कृति, जात, वर्ग, लिङ्ग र समुदायको अधिकारको प्रत्याभूति रहेको वर्तमान संविधानको अक्षर र मर्मको परिपालना गर्दै परिवर्तनको जगेर्ना गर्ने अठोटका साथ नेपाल राष्ट्रको राष्ट्रपतिको गरिमामय पदका लागि उम्मेदवारको रुपमा उपस्थित छु । नेपाली जनताका प्रिय प्रतिनिधि तपाईंको अमूल्य मतको अपेक्षा गरेको छु‚’ पत्रमा उनले लेखेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७