भरतपुर महानगर : सडक निर्माण तीब्र


८ चैत्र २०७९, बुधबार
bharatpur chitwan

चितवन । एकीकृत सहरी पूर्वाधार विकास कार्यक्रमअन्तर्गत भरतपुर महानगरपालिकाका दुई सडक आज शिलान्यास गरिएको छ । भरतपुर –२५ विशाल चोकदेखि कुमारी चोक हुँदै देवीस्थान, छतलेचोकबाट बेतली खोलाको पुलसम्म जोड्ने पाँच दशमलव छ किमी सडक र भरतपुर – ९ को तीनतले चोकदेखि काँडाघारी हुँदै एपोलो पेन्टसम्मको करिब एक दशमलव दुई किमी सडक निर्माण हुन लागेको हो ।

सघन सहरी तथा भवन निर्माण आयोजनाले सडक निर्माण गर्नेछ । ती दुबै सडक निर्माणका लागि महालक्ष्मी-ओम सत्य साइ जेभी भरतपुरले जिम्मा पाएको छ । वडा नम्बर २५ को सडक निर्माणका लागि करबाहेक रु १० करोड ८६ लाख ५३ हजार चार सय ३५ र वडा नम्बर ९ को सडक करबाहेक रु दुई करोड १९ लाख आठ हजार नौ सय ९३ लागतमा निर्माण हुने जनाइएको छ ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले ती सडकको शिलान्यास गर्नुहुँदै महानगरलाई ‘स्मार्ट सिटी’ निर्माणका क्रममा सडक निर्माण तीव्र बनाइएको बताइन् । उनले भनिन्, ‘अहिलेको प्याकेजमा सडक निर्माण, नारायणी नदी किनार आरतीस्थल निर्माण, बसपार्क निर्माणलगायतका क्षेत्रमा काम हुँदैछ ।’ महानगरपालिकाभित्र रिङरोड र लिङ्क रोड निर्माण अघि बढिरहेको उनको भनाइ छ ।

कार्यक्रममा महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारीले विकासका हरेक गतिविधिमा स्थानीयको महत्वपूर्ण भूमिका रहने बताए । उनले भने, ‘समयमा काम सक्नुस् । हामी सम्मान गर्छाैं ।’ सडक कार्यक्रममा सघन सहरी तथा भवन निर्माण आयोजनाका लेखा अधिकृत ओमबहादुर खड्का, वडा नम्बर ८ का वडाध्यक्ष जीवनाथ कँडेल, वडा नम्बर ९ का वडाध्यक्ष यमलाल कँडेल, वडा नम्बर २५ का वडाध्यक्ष छविलाल सापकोटा, पूर्वअध्यक्ष विजय भुजेललगायतले सडक समग्र विकासको पूर्वाधार भएको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७