पाइलट विरामी भएपछि निगमको दुबई उडान रद्द, ५४३ यात्रु अलपत्र


१९ चैत्र २०७९, आईतवार
nepal airlines

काठमाडौँ । नेपाल वायुसेवा निगमको वाइडबडी विमान उड्नै लाग्दा को–पालटलाई पखाला लागेपछि शनिबार राति काठमाडौं–दुबई–काठमाडौंको उडान रद्द हुँदा दुवैतर्फ कम्तीमा ५४३ यात्रु अलपत्र परेका छन् ।

निगमको व्यवस्थापनले क्याप्टेनसँगै उड्ने अर्को जगेडा को–पाइलट व्यवस्था गर्न नसक्दा शनिबार राति १२ बजे दुबईका लागि तय गरिएको उडान नम्बर– आरए २२९ बाट उड्न बोर्डिङ पास लिइसकेका २६६ यात्रुलाई सिनामंगल, गौशाला, ज्ञानेश्वरका होटलहरुमा राखिएको छ । अन्तिम समयमा यात्रुहरुले जहाज नउडाएकोमा विमानस्थलमा नाराबाजी गर्दै निगम व्यवस्थापनको विरोध गरेका थिए ।

दुबईबाट आइतबार बिहान ४ बजे काठमाडौंका लागि तय भएको यसै विमानको उडान (आरए२३०) उडान पनि रद्द भएको छ । उक्त उडानबाट काठमाडौं आउने यात्रुलाई पनि दुबईमा रहेको निगमको स्टेसनले निगमकै खर्चमा होटलमा राखेको छ । निगम प्रवक्ता अर्चना खड्का अनुसार, शनिबार राति ११ः३० बजेको रद्द उडान आरए२२९ लाई आइतबार बिहान ११ बजेका लागि राखिएको छ । काठमाडौं र दुबईमा होटलमा कति यात्रु राखिएका छन् भन्नेबारे आइतबार बिहान १० बजेसम्म विमानस्थलमा रहेका निगमका स्टेसनहरुले एकिन संख्या रिपोर्टिङ गरिनसकेको प्रवक्ता खड्काले जानकारी दिइन् ।

शनिबार राति साढे १० बजे दिल्लीबाट फर्केको निगमको मकालु नेपाली नाम भएको वाइडबडी विमानलाई दुबई उडानका लागि राखिएको थियो । त्यो जहाज दिल्लीबाट उडाएर ल्याउने क्याप्टेन योगेश हिराचन र को–पाइलट गोपालसिंह विष्ट नै दुबई जानुपर्ने तालिका थियो । तर, जहाजमा उपलब्ध हुने खानाले ‘फुड प्वाइजन’ का कारण पखाला लागेपछि को–पाइलट विष्टले ‘सिक रिपोर्ट’ गरेका थिए ।

विरामीका कारण कोपाइलट विष्ट जान नसक्ने भएपछि निगमको फ्लाइट अपरेसनले बिदामा रहेका पाइलटको खोजी गर्दा एक जना क्याप्टेनलाई दुबई उडानका लागि अनुरोध गरेका थिए । तर, ती क्याप्टेनले मदिरा सेवन गरिसकेकाले आफू उड्न नसक्ने जानकारी दिएपछि निगमको काठमाडौं स्टेसनले दुबई उडान रद्द गरेको उडानमा संलग्न एक कर्मचारीले जानकारी दिए । निगमसँग दुईटा वाइडबडी विमान छन् । यिनका लागि ६ जना को–पाइलट र ८ जना क्याप्टेन छन् । यो संख्या पर्याप्त होइन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७