चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुखसँग माओवादी उपाध्यक्ष सापकोटाको भेटवार्ता


१२ जेष्ठ २०८०, शुक्रबार
agni sapkota czRtBDf46v

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवं निवर्तमान सभामुख अग्निप्रसाद सापकोटा र चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ च्यान छाओबीच भेटवार्ता भएको छ ।

चीन भ्रमणमा रहेको निवर्तमान सभामुख सापकोटा नेतृत्वको माओवादी पार्टी प्रतिनिधि मण्डल र चिनियाँ कम्युनिष्ट पार्टी विदेश विभाग प्रमुख लिउ नेतृत्वको टोलीबीच विहिबार चीनको राजधानी बेइजिङमा भेटवार्ता भएको हो । उनीहरुबीच सुरुमा एक्लाएक्लै र त्यसपछि पदाधिकारी सहित भेटवार्ता भएको थियो ।

उनीहरूबीच दुई देश र दुई पार्टीको सम्बन्धका विषयमा छलफल भएको थियो । भेटमा चिनियाँ विदेश विभाग प्रमुख लिउले प्रचण्ड नेतृत्वको वर्तमान सरकारले लिएको आर्थिक विकास र समृद्धिको लक्ष्यमा चीनले निरन्तर सहयोग गर्ने बताएका छन् ।
जवाफमा उपाध्यक्ष सापकोटाले चीन नेपालको छिमेकी मात्र नभएर विकास साझेदार समेत भएको चर्चा गर्दै नेपालको आर्थिक सामाजिक विकासमा पुर्याएको सहयोगका लागि चीनलाई धन्यवाद दिए । उनले आगामी दिनमा पनि चीनले सहयोग जारी राख्ने विश्वास व्यक्त गरेका थिए ।

जेठ ५ गते २० सदस्यीय सापकोटा नेतृत्वको पार्टी प्रतिनिधि मण्डल चीन प्रस्थान गरेको थियो । सुरुमा ल्हासा र मानसरोबरको भ्रमण एवं अवलोकन गरेको सापकोटा नेतृत्वको टोली अहिले राजधानी बेइजिङमा छ । भ्रमण सम्पन्न गरी प्रतिनिधि मण्डल १८ जेठमा स्वदेश फर्कने कार्यक्रम रहेको छ । भ्रमण टोलीमा पूर्व सभामुख सापकोटासहित पार्टी सचिवहरु हितमान शाक्य, गणेश शाह र डिलाराम आचार्य छन् । यसैगरी प्रदेश अध्यक्ष र केन्द्रीय नेताहरू पनि भ्रमण टोलीमा छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७