एक सातामा पनि सकिएन प्रतिरक्षा बहस, अझै तीन जनाको बाँकी

इजलासमै भक्कानिए शमशेर मियाँ


३१ जेष्ठ २०८०, बुधबार
bhutani

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्तहरुको प्रतिरक्षमा एक सातादेखि जारी बहस अझै सकिएको छैन । शरणार्थी प्रकरणमा आज (बुधबार) पूर्व गृहमन्त्री बालकृष्ण खाँण, नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ र पूर्व सभासद् आङटावा शेर्पाको तर्फबाट बहस भएको छ ।

बुधवार प्रतिवादीको तर्फबाट बहस सक्न न्यायाधीश प्रेमप्रसाद न्यौपानेले समय दिए पनि बहस पुरा नसकिएको हो । प्रतिवादीहरू हरिभक्त महर्जन, लक्ष्मी महर्जन र शरणार्थी नेता टेकनाथ रिजालको तर्फबाट बिहीबार थुनछेक बहस हुने भएको छ ।

बालकृष्ण खाँणको तर्फबाट वरिष्ठ अधिवक्ता रमन श्रेष्ठ, शुरेन्द्र कुमार महतो, गोपालकृष्ण घिमिरे, खम्म बहादुर खाती र अधिवक्ता ललितबहादुर बस्नेतले बहस गरे । मंगलबार खाँणको तर्फबाट १० जना कानुन व्यवसायीले बहस गरेका थिए ।
हज समितिका अध्यक्ष शमशेर मियाँको तर्फबाट ऋषिराम घिमिरे, मन्दिरा अधिकारी र रवीन्द्र भट्टराईले बहस गरेका छन् । पूर्व सभासद् आङटावा शेर्पाको तर्फबाट अधिवक्ताहरु योगेन्द्र बहादुर अधिकारी, शरद कोइराला र मणिराज उपाध्यायले बहस गरेका छन् ।
इजलासमै भक्कानिए शमशेर मियाँ
नक्कली भुटानी शरणार्थी प्रकरणमा अभियुक्त हज समितिका अध्यक्ष शमशेर आफ्ना कानुन व्यवसायीको बहसपछि इजलासमै भक्कानिएका छन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा बुधबार १०औँ दिन पनि थुनछेक बहस जारी रह्यो ।

यस प्रकरणमा मुछिएका पूर्व गृहमन्त्री बालकृष्ण खाँणको तर्फबाट १५ कानुन व्यवसायीको बहसपछि बुधबार मियाँको तर्फबाट बहस सुरु भएको थियो । उनको पक्षमा अधिवक्ता ऋषिराम घिमिरेले बहस गरेका थिए । उनले कोभिडको समयमा अभियुक्तमध्येका सन्देश शर्मालाई गाडी प्रयोग गर्न दिएकै आधारमा मियाँविरुद्ध मुद्दा दायर गरिएको दाबी गरे ।

घिमिरेले कोभिडको समयमा मानवताका आधारमा सहभियुक्त सन्देशलाई आफ्नो गाडी प्रयोग गर्न दिएको र उक्त गाडी कुनै आपराधिक कार्यमा प्रयोग गर्न नदिएको बताए । मियाँलाई गाडी दिएकै आधारमा पूर्पक्षका लागि थुनामा राख्दा उनको वैयक्तिक स्वतन्त्रता हनन हुने घिमिरेको तर्क थियो । मियाँलाई तथ्यको अज्ञानता भएकाले उनीविरुद्ध कुनै पनि कसुर पुष्टि नहुने घिमिरेको दाबी थियो । करिब दुई घण्टाको बहसपछि घिमिरेले मियाँलाई अदालतले चाहेको समयमा उपस्थित हुने गरी रिहा गर्न माग गरे ।

बहस सकिएसँगै मियाँले घिमिरेलाई बोलाए । मियाँले हात जोडेर घिमिरेलाई धन्यवाद समेत दिए । केही समय मियाँसँग बोलेपछि घिमिरे बिदा भए । घिमिरे इजलासबाट बाहिर ननिस्किँदै मियाँले इजलासमा बसेको ठाउँबाटै आँशु झार्दै भक्कानिए । उनीविरुद्ध सहभियुक्त सन्देश शर्मालाई गृह मन्त्रालयले उपलब्ध गराएको गाडी दिएको आरोप लागेको छ । सोही गाडी प्रयोग गरी विभिन्न समयमा रकम संकलनमा प्रयोग भएको प्रमाण भेटिएको थियो । उनीसहित ३० जनाविरुद्ध नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा ठगीसहित कीर्ते, राज्यविरुद्धको अपराध, संगठित अपराध र एकीकृत कसुरमा मुद्दा दर्ता भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७