लेदो र गेग्रानले सिद्धार्थ राजमार्ग ठप्प


१९ असार २०८०, मंगलवार
pahir

पाल्पा । लगातारको बर्षासँगै माथिल्लो भागबाट खसेको लेदो र गेग्रानले सिद्धार्थ राजमार्ग मंगलबार बिहानैदेखि अवरुद्ध भएको छ । राजमार्गको माथिल्लो भागमा स्थानीय तहले जथाभावी सडक स्तरोन्नति गर्दा फालेको गेग्रान र लेदो बगेर माथागढी गाउँपालिका–१, चिदीपानी धैरेनीमा लेदोहितको पहिरो खस्दा सडक अवरुद्ध भएको ट्राफिक प्रहरीले जानकारी दिएको छ ।

सोमबार रातिदेखि परेको अविरल वर्षाका कारण गेग्रानसहितको पहिरोले राजमार्ग अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख दामोदर मल्लले जानकारी दिए । पहिरो र लेदो पन्छाउन पानी परिरहेकाले मुस्किल परेको र खुलाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ ।

आर्यभन्ज्याङ–राम्दी सडकको बगनासकाली गाउँपालिका–४, सेरामा पनि माथिल्लो भागबाट गेग्रान र लेदोसहितको पहिरो खसेर यात्रुले सास्ती खेप्नु परेको छ । कालीगण्डकी करिडोर निर्माणका क्रममा जथाभावी फालेका गेग्रानले तल्लो भागमा पर्ने सिद्धार्थ राजमार्गको राम्दी नजिकै सेरामा माथिल्लो भागबाट बगेर आएको लेदोका कारण पानी पर्नासाथ समस्या पर्ने गरेको हो । दोभान प्रहरी चौकीका अनुसार राजमार्गको तिनाउ–३, भूतखोलामा रुख ढलेर अवरुद्ध भएको सडक सुरु गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७