‘मर्निङ वाक’ मा निस्किएका आठ महिलाको सिक्री लुटियो, पाँच जना पक्राउ


२४ असार २०८०, आईतवार
morning lutpat 1

काठमाडौं । काठमाडौंका विभिन्न ठाउँमा श्रृंखलाबद्ध रुपमा लुटपाटमा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । मर्निङ वाकमा निस्किएका महिलाहरूलाई पिछा गर्दै सुनको सिक्री लुटपाटमा संलग्न उनीहरूलाई पक्राउ गरेर काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सार्वजनिक गरेको हो ।

उनीहरूलाई असार २२ गते पक्राउ गरिएको थियो । उनीहरूले असार १९ गते चक्रपथ बंगलामुखी मन्दिर नजिकै ६० वर्षकी कान्छी श्रेष्ठ, २० गते पौने ५ बजे टोखामा मर्निङ वाक निस्किएकी ४३ वर्षीया रिता श्रेष्ठ, त्यही दिन पौने ६ बजे खागलमा मर्निङ वाक हिँडेकी वृद्धा सरस्वती डंगोलको सिक्री लुटपाट गरेको अनुसन्धानमा खुलेको प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए । उनीहरुले मर्निङ वाकमा निस्किएका आठ महिलाको सुनको सिक्री लुटेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरूमा रामेछाप लिखु गाउँपालिका दुरागाउँका रविन दमाई, सुनसरी धरानका रवि विश्वकर्मा, काभ्रे पाँचखालका उमेश क्षेत्री, धनकुटा लेगुवाका राहुल माझी र भारत पश्चिमबंगाल घर भई हाल न्युरोड बस्दै आएका श्रीकान्ता माईती छन् ।
उनीहरूको साथबाट ११.२ ग्रामको सुनको ढिक्का १ थान, लुटपाटमा प्रयोग गरिएको मोटरसाइकल २ थान, मोबाइल ६ थान र ४७ ग्रामको सुनको नेक्लेस बरामद गरिएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७