भुवनले हारे साम्राज्ञीविरुद्धको मुद्दा, दावी नपुग्ने अदालतको फैसला


२७ असार २०८०, बुधबार
Samragee and Bhuwan 15936836931689165497

काठमाडौं । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहविरुद्धको मुद्दा अभिनेता तथा निर्माता भुवन केसीले हारेका छन् । केसीले साम्राीविरुद्ध जिल्ला अदालतमा गाली बेइज्जती मुद्दा दायर गरेका थिए ।

तीन वर्षअघि केसीले हालेको मुद्दामाथिको न्यायाधीश वासुदेव पौडेलको इजलासले सुनुवाइ गर्दै केसीले गरेको दाबी नपुग्ने फैसला गरेको हो । यो मुद्दा ९ साउन २०७७ मा दर्ता भएको थियो । सामाजिक सञ्जाल र मिडियामा लामो भनाभनपछि साम्राज्ञी र भुवनबीचको विवाद अदालतमा प्रवेश गरेको थियो ।
यस्तो थियो घटना
बलिउड अभिनेता सुशान्तसिंह राजपुतले आत्महत्या गरेपछि बलिउडमा नेपोटिज्मबारे बहस सुरु भयो । त्यसको बाछिटाले नेपाली चलचित्र क्षेत्रलाई समेत छोयो । नेपोटिज्मको विषयमा नेपाली कलाकारहरूले पनि आफ्नो आफ्नो धारणा राख्न थाले । कसैले नेपालमा नेपोटिज्म नभएको बोले, कसैले नेपालमा नेपोटिज्मरग्रुपिज्म भएको टिप्पणी गरे । यो भिडमा साम्राज्ञीको स्वर अलिक फरक सुनियो । सामाजिक सञ्जालमा उनले आफूले काम गरेका आठमध्ये तीन चलचित्रमा शोषण र दुर्व्यवहार भएको बताइन् । उनले तीन चलचित्रको निर्माण पक्षलाई आरोप त लगाएकी थिइन् तर कसैको नाम लिएकी थिइनन् ।

तर, अभिनेता तथा निर्माता भुवन केसीले साम्राज्ञीलाई उत्तर फर्काए । उनले आफूले डेब्यू दिएकै कारण साम्राज्ञी चलचित्र क्षेत्रमा चलेको दाबी मात्र गरेनन्, साम्राज्ञीले ‘जुन थालमा खायो, त्यही थालमा दुलो पारेको’ समेत आरोप लगाए । यो आरोप साम्राज्ञीलाई असैह्य भयो । साम्राज्ञीले भुवनलाई थप आरोप लगाइन्, ‘जापान अवार्डमा उहाँले मलाई गालामा मुख जोडेर यस्तो कुरा नगर्न भन्नु भयो ।’

फेरि साम्राज्ञीको आरोप भुवनलाई पचेन । उनले कलाकार संघमा आफ्नो मानहानी भएको भन्दै उजुरी दिए । अब आइन्दा यस्ता भ्रामक आरोप नलगाउन अनुरोध गरे । भुवनको अनुरोधपछि साम्राज्ञी केही चुप देखिन्थिन् तर भुवन आफै विभिन्न मिडियामा अन्तर्वार्ता दिँदै साम्राज्ञीमाथि जाइलागे । उनको समर्थनमा रहेर अन्य केही चलचित्रकर्मीहरूले पनि अन्तर्वार्ता दिए ।

भुवनको पक्ष लिएर अन्तरवार्ता दिने क्रममा चलचित्र निर्देशक सोभित बस्नेतले साम्राज्ञीलाई विभिन्न दोष लगाए । भुवनकै कारण गाडी चड्न सक्ने भएको बताए । त्यति मात्र होइन, सोभितले साम्राज्ञीलाई रिटायर्ड नायिका समेत भन्न भ्याए । सोभितले एउटा अन्तर्वार्तामा भनेका थिए, ‘साम्राज्ञीजीले मलाई चिन्नुहुन्न रे ! उहाँले त मलाई नचिनेकै राम्रो । किनभने उहाँ त रिटायर्ड भइसक्नु भयो ।’

त्यस्तै, भुवनको पक्ष लिएर प्रोडक्सन म्यानेजर गणेश सापकोटाले एउटा अन्तर्वार्ता दिए, जहाँ गणेशले लगाएको आरोप भने अपाच्य नै थियो । गणेशले साम्राज्ञीलाई सुटिङ सेटमा गाँजा, रक्सी खानेदेखि साम्राज्ञीकी आमासम्मको कुरा उठाए ।
निकै तुच्छ गालीसहितको उक्त अन्तर्वार्ता भुवन केसीले पनि शेयर गरे । पछि उक्त अन्तर्वार्ताको चर्को विरोध भयो । र, उक्त अन्तर्वार्ता युट्युबबाट हटाइयो । यी केही अन्तर्वार्तामा अभिनेत्री साम्राज्ञीले ‘मानहानी भएको बताएकी थिइन् । तर, अभिनेता केसी आफैले साम्राज्ञीविरुद्ध मानहानीको मुद्दा दर्ता गराएर १० करोड रुपैयाँ क्षतिपूर्ति मागेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७