राजेन्द्र लिङ्देनको प्रश्न : तीन दल मिलेर संसद र पूरै देशलाई बन्धक बनाउन पाइन्छ ?


२३ श्रावण २०८०, मंगलवार
Rajendra Lingden

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रमुख तीन दलका नेताहरू मिलेर संसद र देशलाई पूरै बन्धक बनाउन नमिल्ने बताएका छन् ।

आज (मंगलबार) प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै राप्रपा अध्यक्ष लिङ्देनले प्रमुख तीन दलका नेताहरू रातारात सल्लाह गर्ने र मिलेपछि आफूहरू लुरुलुरु पछि लाग्नुपर्ने हो भन्ने प्रश्न गरेका हुन् । उनले कुनै पनि दललाई कसैलाई निषेध गर्न नमिल्ने बताएका छन् । ‘तीन दल मिलेर पूरै देश र संसदलाई बन्धक बनाउन मिल्छ ? रातारात सल्लाह गर्ने अनि तीन दल मिले हामी लुरुलुरु पछि लाग्नुपर्ने हो ?,’ उनले भने ।

अध्यक्ष लिङ्देनले संसदमा गैरसंवैधानिक शक्ति केन्द्रको निर्माण भइरहेको भन्दै आपत्ति जनाएका छन् । ‘तीन दलका नेताहरू बसेर निर्णय गर्ने अनि हामी पछि लाग्नुपर्ने । यो गैरसंवैधानिक शक्तिकेन्द्रको निर्माण कसरी भइरहेको छ ? संविधानको कुन धाराले यसको परिकल्पना गरेको छ ?,’ उनले प्रश्न गर्दै भने ।

उनले प्रमुख तीन दलका नेताहरू बसेर संसदीय समितिको भागवण्डा गरेको भन्दै आपत्ति पनि जनाए । ‘तीन दलका नेता बस्ने र संसदीय समितिको भागवण्डा गर्ने ? संसदीय समितिको निर्माण कसरी हुन्छ भन्ने कुरा नियमावलीमा छ,’ उनले भने, ’तीन दल बसेर टुंगो लगाउने विषय हो ?’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७