बंगलादेशीलाई बन्धक बनाएर फिरौती असुलेको आरोपमा दुई नेपालीसहित सात जना पक्राउ


२८ श्रावण २०८०, आईतवार
pakrau

काठमाडौँ । बंगलादेशी नागरिकलाई अपहरण गरी फिरौती मागेको आरोपमा प्रहरीले नेपालीसहित सात जनालाई पक्राउ गरेको छ । मलेसिया, पोल्याण्ड र क्रोएसियासहितका देशमा पठाउन भन्दै बंगलादेशी नागरिकहरुलाई अहरण गरी बन्धक बनाएर फिरौती असुलेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले पाँच बंगलादेशी र २ जना नेपालीलाई उक्त अभियोगमा पक्राउ गरेको हो । उनीहरुले ती देशहरुमा राम्रो काम पाइन्छ, धेरै पैसा कमाई हुन्छ भनेर प्रलोभनमा पार्दै गत असार २८ गते बंगलादेशी नागरिक राजोन, फर्हाद हुसेनलाई असार २८ गते ल्याएर बन्धक बनाएको खुलेको छ ।

दुवै जनालाई नयाँ बसपार्कस्थित शुभलक्ष्मी दैलेखी गेस्ट हाउसमा लगेर १० लाख बंगलादेशी टाका रकममा पोल्याण्ड पठाइ दिने आश्वासन गिरोहले दिएको थियो । उनीहरुले उक्त रकम दिन नमानेपछि यो गिरोहले ह्वाट्स एपमार्फत बंगलादेशस्थित उनीहरुका परिवारलाई फोन गरेर तत्काल पठाउने भए १० लाख टाका पठाउनु, होइन भने जे पनि गर्छौँ भनेर धम्की दिएको खुलेको छ ।

रकम नआएपछि उनीहरुले ती बंगलादेशीहरुलाई कुपटि गरेको, हप्काएको र यातना दिएको भिडिओ पठाएर धम्की दिएको महानगरी प्रहरी अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ । परिवारले १० लाख टाँका पठाइसकेपछि फेरि यो गिरोहले ती दुई बंगलादेशीको परिवारसँग २० लाख टाँकाका लागि बार्गेनिङ गरेको पाइएको छ ।

उनीहरुले आफन्तलाई मारिदिने भन्दै धम्की दिएपछि अर्का बंगलादेशी नागरिक अबु बक सिद्धिकीले काठमाडौंस्थित पर्यटक प्रहरी हुँदै अपराध अनुसन्धान कार्यालयमा उजुरी दर्ता गराएका थिए । उनीहरुले विदेश पठाउन प्रक्रियाका लागि केही रकम लाग्ने भन्दै सुरुमा बंगलादेशमै ५० हजारदेखि १० लाख टाकासम्म लिएको पनि खुलेको छ ।

यो गिरोहमा नेपाल र बंगलादेशका नागरिक संलग्न थिए । उनीहरुमध्ये बंगलादेशको एजेन्टले नेपालको विमानस्थलमा लिन आउने मानिसबारे पीडितहरुलाई फोटोसहितको विवरण उतै दिने गरेको पनि पत्ता लागेको छ । यो गिरोहले बंगलादेशबाट त्यसरी आएका मानिसहरुलाई विदेशक प्रक्रियाका लागि केही समय लाग्छ भनी ८–१० दिनमा होटल फेरेर राख्ने गरेका प्रहरीले जनाएको छ ।

त्यसपछि उनीहरुले पीडितहरुलाई सेफ हाउसमा लगेर मोबाइल, पासपोर्ट, साथमा भएको पैसा लगायत कुरा नियन्त्रणमा लिई कुटपिट गरी यातना दिएको भिडिओ बनाउने गरेका थिए । त्यसपछि सामाजिक सञ्जालबाट भिडिओ कल गरी यातना दिएको दृश्यहरु देखाएर परिवारसँग भनेजति रकम नदिए ज्यानै लिने धम्की दिँदै मोटो रकम असुल्ने गरेको पाइएको छ । त्यसरी लिने रकम उनीहरुकै मानिसहरुको बंगलादेशमा रहेको खातामा तथा नगदै लिने गरेको पनि खुलेको छ ।

उनीहरुले नेपालमा ब्युटी पार्लरको काम भनी मसाज सेन्टर (स्पा) मा जबरजस्ती काममा लगाउने, ग्राहकहरुको चाहनाअनुसार यौन कार्य समेत गर्नुपर्छ भनी धम्काउने गरेको अनुसन्धानबाट खुलेको छ । यी आरोपीहरुले भारतको आधारकार्ड तथा नेपालको नागरिकता समेत लिने गरेको पाइएको छ ।

नेपाली महिलाहरुसँग लिभिङ टुगेदरमा बस्ने बस्ने तथा विवाह गरेको भनी ती महिलाहरुको नाममा बैंकमा खाता खोली पैसाको कारोबार गर्ने, जग्गा जमिन तथा सम्पत्ति खरिद गर्ने र कभरका रुपमा विभिन्न पेशा तथा व्यापार व्यवसाय सञ्चालन गर्ने गरेको खुलेको छ । २ जना बंगलादेशी नागरिकलाई अपहरण गरी बन्धक बनाएको सूचनाको आधारमा अनुसन्धान गर्दै जाँदा थप ६ जना सहित ८ जना को सकुशल उद्दार गरिएको प्रहरीले जनाएको छ ।
यी हुन् समातिने
यो प्रकरणमा पाँच बंगलादेशी र दुई नेपालीसहित सात जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा इलामको चुलाचुली गाउँपालिका–७ घर भई काठमाडौंको नक्साल भगवतीबहाल बस्ने ३३ वर्षीया रोशिन राई छिन् ।

त्यस्तै सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–६ घर भई ललितपुरको हरिसिद्धि बस्ने २७ वर्षीया तारा नेपाली पक्राउ परेकी छन् । त्यस्तै बंगलादेशको ढाका मोभसिङ जिल्ला घर भई हाल काठमाडौंको कपुरधारा बस्ने ३४ वर्षीय जहाङ्गिर आलम पनि समातिएका छन् । बंगलादेशको ढाका सिलेट जिल्ला जनतापुर घर ई हाल काठमाडौंको हाँडीगाउँ बस्ने २१ वर्षीया ताहमिना बेगम पनि पक्राउ परेकी छन् ।

बंगलादेशको गाजीपुर जिल्ला घर भई अहिले काठमाडौंको कालिमाटीडोल बस्ने ४७ वर्षीय अमिर हुसेनलाई पनि प्रहरीले पक्राउ गरेको छ । त्सैगरी बंगलादेशको बरिसाल घर भई हाल ललितुरको हरिसिद्धि बस्ने ३७ वर्षीय मोहम्मद मोसिह्युर रहमानलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७