भोजपुरमा बर्षातले पहिरो जाँदा सडकसहित घरहरू जोखिममा


११ भाद्र २०८०, सोमबार
bhojpur pahiro

भोजपुर । निरन्तरको वर्षाका कारण भोजपुरमा पहिरो जान सुरु भएको छ । पहिरोका कारण सडक, विद्यालयका र घरहरू समेत जोखिममा परेका छन् ।

जिल्लामा निरन्तरको वर्षा भएपछि सडकसहित घरहरूमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक विशाल लिम्बूले जानकारी दिए । पहिरोले भोजपुर नगरपालिका–१२ का दुई घरमा जोखिम भएको छ । अन्य केही घरसमेत जोखिममा रहेका छन् । शनिबार राति गएको पहिरोले रमेश दर्नाल र मोतिलाल कपालीको घरमा क्षति पुगेको स्थानीयवासी विमल रणपहेलीले जानकारी दिए ।

केही दिनयताको अविरल वर्षाका कारण आफ्नो घरको माथि र तलबाट पहिरो गएको दीपेन दर्नालले बताए । उनले भने, ‘शनिबार रातिको पहिरोले घरमा नै क्षति पुर्‍याएको छ, आवश्यक सहयोगका लागि प्रक्रिया अगाडि बढाएका छौँ ।’ अन्य घरहरू पनि पहिरोको जोखिममा छन् । थप पहिरोको जोखिम रोक्न र आवश्यक सहयोगका लागि सम्बन्धित निकायको ध्यानाकर्षणसमेत ती दुई घर परिवारले गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार वर्षाका कारण भोजपुर नगरपालिका–४ का नरेश खड्काकोे दुईतले घर पूर्णरूपमा क्षति भएको । यस्तै जिल्लाको पूर्वी पौवादुङमा गाउँपालिका–२, कोतगढीडाँडा नजिकैको भित्री सडकखण्डमा पहिरो गएर सडक नै अवरोध भएको छ । बर्षातका कारण हतुवागढी गाउँपालिका–१, भीमसेनथानका छत्रबहादुर बस्नेतको घर छेउमा रहेको गोठ लड्दा गोठभित्र रहेका केही खसी बाख्राहरू समेत मरेका छन् ।

भोजपुर नगरपालिका–१२, पैयाँपानीमा रहेको सार्वजनिक आधारभूत विद्याालयको ४० मिटर पर्खालसमेत वर्षाका कारण ढलेको प्रहरीले जनाएको छ । तीनतले घर भत्किएपछि जिल्लाको उत्तर षडानन्द नगरपालिका–८ का चमरसिंह तामाङको आठ जनाको परिवार छिमेकी हर्कराज राईको घरमा बस्दै आइरहेको छ । त्यस्तै रामप्रसाद राई गाउँपालिका–७ का सुमन राई, सोही वडाका टीकाराम राई लगायतको घरमा समेत क्षति पुगेको प्रहरी निरीक्षक लिम्बूले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७