मकैबारीमा जाँदा भालुको आक्रमणबाट सोलुखुम्बुमा एकको मृत्यु


३१ भाद्र २०८०, आईतवार
Bhalu
सांकेतिक तस्वीर

सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ खिरौलेमा भालुको आक्रमणबाट एक जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा स्थानीय अन्दाजी ५३ वर्षीय पेम्बा वाङ्छु शेर्पा रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

शनिबार दिउँसो अन्दाजी २ बजे मकैबारीमा जाँदा शेर्पालाई भालुले आक्रमण गरेको थियो । भालुको आक्रमणबाट टाउको, पेट, छातीलगायतको भागमा गम्भीर चोट लागेका शेर्पाको महाकुलुङ प्राथमिक अस्पताल बुङमा ज्यान गएको प्रहरीले जनाएको छ ।

घाइते अवस्थामा स्थानीयले उद्वार गरेर अस्पताल पुर्‍याउने बित्तिकै शेर्पाको ज्यान गएको बताइएको छ । भालुको आक्रमणमा परेका शेर्पाको आन्द्रा नै बाहिर निस्किएको प्रत्यक्षदर्शी सुन्दर कुलुङले बताए । स्थानीयका अनुसार गए राति भालुले मकैबालीमा क्षति पुर्‍याएको थियो ।

मकैको ढोंड उठाउन जाने क्रममा बारीमै बसेको भालुले शेर्पालाई दिउँसै आक्रमण गरेको बताइएको छ । शेर्पाको शव अहिले महाकुलुङ प्राथमिक अस्पताल बुङमै राखिएको छ भने घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७