‘कौसीद’ मा इमान्दार शिक्षकले भोग्ने पीडालाई देखाएका छौँ : अभिनेता सापकोटा


११ आश्विन २०८०, बिहीबार
Kausid

काठमाडौँ । नेपाली चलचित्रमा केही समय यता कथाको शैलीमा परिवर्तन आएको छ । कथाको आकर्षणले अभिनेतालाई चरित्र निर्वाह गर्न बाध्य बनाउने अभिनेता भोलाराज सापकोटाले बताएका छन् । उनले चलचित्र ‘कौसीद’ को भूमिका सुनेपछि काम गर्न सहमत भएको बताए । चलचित्रमा इमान्दार शिक्षकले भोग्ने पीडा देखाइएको उनले बताए ।

भारतमा ‘वर्फी’ चलचित्रमा काम गरेपछि चर्चामा आएका अभिनेता सापकोटा नेपाली चलचित्र र रङ्गमञ्चको स्थापित नाम हो । ‘मैले नेपाली रङ्गमञ्चमा काम नगरेको होइन, तर बलिउडको प्रभाव बढी भएकाले अभिनेता रणवीर कपूरका साथी भनेर चिनारी पाएको छु । नेपाली नाटक प्रेमीले मलाई विभिन्न नाटकका पात्रको रुपमा चिन्नुहुन्छ’, अभिनेता सापकोटाले भने, ‘रङ्गमञ्चमा सिकिएका कुरा चलचित्रमा प्रयोग गर्न नपाउँदा कहिलेकाहीँ खल्लो लाग्छ । त्यस समयमा निर्देशकको कलाकार (डिरेक्टर्स एक्टर) भइदिन्छु ।’

केही चलचित्रमा आफ्नो पात्रलाई निर्माण गर्न नपाउँदा निर्देशकका अनुसार काम गरेको उनले बताए । अभिनेता सापकोटाले भने, ‘मैले देखेका थुप्रै शिक्षकमार्फत प्रभावित भएर कौसीदको पात्र बन्न तयार भएको हुँ ।’ चलचित्रमा उनले इमान्दार शिक्षकको भूमिका निर्वाह गरेका छन् ।

श्रीमती र आफन्तको अनुरोधमा बैंकबाट ऋण लिएर घर निर्माण गरेपछि अचानक बढ्ने ब्याजदरले निम्त्याउने समास्या चलचित्रमा देखाइएको छ । उनले इमान्दार भएर सामना गर्नुपर्ने कठिनाइलाई चलचित्रमा देखाइएको बताए । चलचित्रको कथासार मन परेपछि चरित्र निर्माणमा उनी स्वयम् खटिएका थिए ।

‘प्राय निर्देशकले नै पात्रलाई तयार गर्नुहुन्छ । मसँग केही उदाहरण भएकाले मैले प्रयोग गर्ने अनुमति मागे र पाए पनि । यस्ता चलचित्रले अप्ठ्यारो स्थितिमा पनि संयमता गुमाउनु हुँदैन भन्ने सन्देश दिन्छ । यो हाम्रै समाजमा घटिरहने एउटा कथा हो’, अभिनेता सापकोटाले भने । कुमार भास्करले निर्देशन गरेको चलचित्रमा अभिनेता सापकोटासँगै ऋचा शर्मा, रुपेश दाहाल, परिक्षित विक्रम राणा, सदिक्षा गौतम, निर्भिक भट्टराई, सागर भट्टराई, सन्दिप लोहनीलगायत कलाकारले अभिनय गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७