ओलीको कटाक्ष : कांग्रेस साँच्चै थोत्रो भएछ, आफूसँग कति सिट छ पनि चाल पाउँदैन

‘माओवादीमा छोरी–ज्वाइँ र भाइ–भतिजा सप्रेका छन्, कार्यकर्ता तड्पिएका छन्’


१८ आश्विन २०८०, बिहीबार
KP oli

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस पुरानो भएको दाबी गरेका छन् । पार्टी कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले कांग्रेसलाई मेवा र एमालेलाई आँपको रुखसँग तुलना गरे ।

‘तपाईले आँपको रुख र मेवाको रुखसँगै लगाउनु भयो भने मेवाको रुख छिट्टै बढ्छ, छिट्टै फल्छ, छिट्टै बुढो हुन्छ । आँपको रुख बिस्तारै बढ्छ । धेरै वर्षसम्म फलिरहन्छ । एमाले भनेको आँपको रुख जस्तो हो’, उनले भने, ‘कांग्रेस मेवाको रुख जस्तो ।’ अध्यक्ष ओलीले कांग्रेसले आफूसँग कति सिट छ भन्ने समेत थाहा पाउन छाडेको आरोप कटाक्ष गरे ।

‘कांग्रेस साँच्चै पुरानो भयो । साँच्चै थोत्रो भयो । केही पनि गर्न नसक्ने । ८७ सिट छ, तर ३२ सिटको पछाडि लुरुलुरु लागेको छ’, ओलीले भने, ‘उहिले हजुरबाले बलियो बलियो काम पनि गथ्र्यो होला, अहिले बुढो भएपछि नातीको पछाडि हिँड्नुप¥यो नि । त्यस्तै निरीह भएको छ कांग्रेस । आफूसँग कति सिट छ पनि चाल पाउँदैन ।’

ओलीले नेकपा (माओवादी केन्द्र) ‘मजदुरले बाटो बनायो, अर्कैले मोटर कुदायो’ भन्ने जस्तो भएको टिप्पणी गरे । ‘मजदुरले बाटो बनायो, अर्कैले मोटर कुदायो । माओवादीमा त्यस्तै भएको छ । माओवादी कार्यकर्ताले पार्टी बनाए । सरकार बनाए’, ओलीले भने, ‘अनेक चिज गरे । तर, छोरी ज्वाइँ, भाइ भतिजा, भाञ्जा यस्तैको चलेको छ । पीडित माओवादी कार्याकर्ता तड्पिएका छन् ।’ उनले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाल भने कांग्रेस, माओवादी केन्द्रको पछि लाग्न स्वभाविक भन्दै व्यङग्य समेत गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७