पुस्तक समीक्षा : सङ्घर्षले खारिएका थपलियाका ‘जीवन उपयोगी विचारहरु


२० आश्विन २०८०, शनिबार
book

–प्रकाश सिलवाल
काठमाडौँ । मान्छेका सुख, दुःख, माया, घृणा सबै व्यवहारको कसीमा जाँचिएका हुन्छन् । बौद्धिकरुपमा सक्षम र वैचारिकरुपमा सशक्त हुने तर व्यवहारमा राम्रो नहुने मानिसले समाजलाई केही दिन सक्दैनन् । मानव मस्तिष्कमा परिस्थिति, समय, अवस्था, घटना, व्यवहारले कालजयी भनाइ प्रकट हुन्छन् ।

यस्तै–यस्तै विचार र भावनाले वरिष्ठ पत्रकार एवं लेखक गोपालप्रसाद थपलियाका मनभित्र भावना उकुसमुकुस हुने गर्दछन् । विचार र भावनाका तिनै उच्छवासलाई समेटेर उनले हालै ‘जीवन उपयोगी’ पुस्तक प्रकाशनमा ल्याएका छन् ।
‘व्यवहारतः परीक्षण भएर बनेका भनाइ, नीति, सिद्धान्त र विचार बन्दछन् । मानव हितमा नभएका भनाइ जति राम्रा भए पनि ती काम लाग्दैनन्’ भन्ने विचार राख्ने वरिष्ठ पत्रकार थपलिया पछिल्लो समय साहित्यका विविध विधामा लेखन र प्रकाशनमा व्यस्त छन् ।

राजनीतिज्ञका साथै प्रेस स्वतन्त्र सेनानी र नेपाली पत्रकारिता जगत्का भीष्मपितामह मानिने छलफल साप्ताहिकका संस्थापक प्रधानसम्पादक थपलियाका यसअघि सत्ताको मान्छे (कविता सङ्ग्रह), नायकको खोजी (कथासङ्ग्रह), गीतसङ्ग्रह प्रकाशन भइसकेको छ ।

दक्षिण एसियाली स्वतन्त्र पत्रकार सङ्घ (साफ्मा) नेपाल च्याप्टरका संस्थापक अध्यक्ष थपलियाले पञ्चायतकालमा मिसन पत्रकारिताका गरेकै कारण जेल, नेल र अनेक कष्ट भोग्नुपरेको थियो भने लोकतान्त्रिक जनआन्दोलनमा प्रहरीको प्रहारबाट घाइते भई लामो समय नशासम्बन्धी समस्या भएर स्वदेश र विदेशमा उपचार गराउन पुगे ।

थपलियाले जीवनकालमा राष्ट्रिय र अन्तर्राष्ट्रिय जगत्तमा अनेकौँ उथलपुथल देखे । उनको सम्पूर्ण जीवन जनतामा निरङ्कुशताले गरेको अन्याय, अत्याचार र दमनविरुद्ध लड्दैमा बितेको छ । यसबीच उनले निरङ्कुशताका अनेकौँ यातना भोगे । शरीर निरङ्कुश सत्ताका दमनले जीर्ण भयो । तर जनता र राष्ट्रप्रतिको मेरो कर्तव्यलाई उनले एक चिम्टी पनि तल पर्न दिएनन् । मुलुक र जनताको हितका निम्ति आफूलाई अर्पण गर्न उनी कहिल्यै पछि परेनन् । जीवनमा तिनै सङ्घर्षमयी अनुभवसमेतका आधारमा विचारलाई तिखार्दै थपलियाले पछिल्लो समयमा साहित्यमा अभ्यस्तता बढाएका छन् । अस्वस्थ्य भएर पनि मोबाइलमा एक हातका औँलाले टाइप गरेका भरमा उनले कृति प्रकाशन गर्दै आएका छन् ।

स्वास्थ्यले पूर्ण साथ नदिए पनि थपलिया शोषित पीडित जनताको सुख र समृद्धिका लागि सङ्घर्षशील भएर लाग्न तत्पर छन् । समय, घटना, स्थान र वातावरणको वस्तुतथ्यमा आधार भएर जीवनमा आफूले देखे भोगेका अनुभवलाई यस पुस्तकमार्फत उनले पस्किएका छन् । ‘जुनबेला जे भयो, जे मेरो विवेकले जाँच्यो, त्यसैबेला मोबाइलमा बूढी औँलाले लेखेर सामाजिक सञ्जालमा पनि राख्दै गएँ । थुप्रै क्रिया र प्रतिक्रिया प्राप्त भए । मैले भेटेका र अनुभव गरेका कति मान्छेहरु व्यवहारले कति सही र गलत भन्ने भोगेर मैले त्यसको परिणामबारे पनि सारसंक्षेपमा लेखेको छु’, पुस्तकबारे उनको भनाइ छ, ‘मेरा यी भनाइ तथ्यका आधारमा छन् या छैनन् ? यो जिम्मा सबै पाठकमा छोडिदिएको छु ।’

थपलियाले भने जस्तै वास्तवमा सबैले आफ्नो जीवनतिर फर्केेर हेर्नैपर्छ । मान्छेका आ–आफ्नै व्यवहारिक अनुमान हुन्छन् । सबैको जीवन एकनासले बित्दैन । विभिन्न किसिमले मान्छे जीवन बिताउने गर्दछन् । थपलियाको जीवन सुख र सफलताको जीवन नभई त्याग र बलिदानको शृङ्खला भएको देखिन्छ । अनेकौँ आरोहअवरोह र कठिनाइ जीवनमा आए पनि उनले देश र जनताको सुख र समृद्धि प्राप्त गर्ने बाटोलाई त्यागेका छैनन् । उनी पद, प्रतिष्ठा र पैसामा आकर्षित नभइ जनताको न्यायपूर्ण आन्दोलनलाई साथ दिन तल्लिन छन् ।

‘जीवन उपयोगी’ पुस्तकमा यस्तै सन्दर्भ र अनुभवले विचारका रुप लिएका छन् । पैरवी प्रकाशनले प्रकाशन गरेको एक सय ६४ पृष्ठको यस पुस्तकले जीवनमा आशा र निराशा के हो ? असफलताबाट सफलता कसरी प्राप्त गर्ने ? देश र जनताका लागि शपथ खाने नेताहरुले कस्ता घात गर्न पुग्छन् ? भ्रष्ट र दलालको धन्दा के हो ? जस्ता विषयमा बुँदागत तथा सटिक विश्लेषण र प्रवृत्तिगत चित्रण गरिएको छ । भूमिकामा प्रा डा हेमनाथ पौडेलले व्यक्त गरेझैं थपलियाका अभिव्यक्ति उपयोगी र मननीय छन् । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७