विहे लगत्तै विदेशी बुहारीले नेपाली नागरिकता पाइहाल्नु ठीक होइन : तिमिल्सिना


३ पुष २०८०, मंगलवार
ganesh 1 scaled

काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विवाह लगत्तै विदेशी बुहारीले नेपाली नागरिकता पाइहाल्ने कानुनी व्यवस्थाप्रति असन्तुष्टि जनाएका छन् । उनले नागरिकता विधेयकमा रहेको यो व्यवस्था विवादकै बीचबाट पास भएको बताए ।

आज (मंगलबार) बिहान काठमाडौँमा भएको ‘पूर्ण नागरिक, पूर्ण अधिकार : नागरिकतामा समान अधिकार’ विषयक कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले नेपालले भारतसँग खुला सीमा भए पनि राष्ट्रियतासँग जोडिएको नागरिकताजस्तो महत्वपूर्ण सवालमा भारतकै जति पनि ध्यान पुर्‍याउन नसकिएको टिप्पणी गरे ।

‘विदेशी महिलाले नेपाली पुरुषसँग विवाह गरेलगत्तै नेपाली नागरिकता पाउने व्यवस्था ठीक छैन । यो विधेयकमा राखिएको विषयमा विवादै थियो, त्यत्तिकै पास भयो,’ उनले भने, ‘भारतमा विवाह भएर गएर बसोबास गरेको ७ वर्षपछि मात्रै नागरिकता प्राप्तिको प्रक्रिया अगाडि बढाउन मिल्छ ।’ उनले यस्तो व्यवस्थामा दीर्घकालमा मुलुकको राष्ट्रियतामा खलल पुर्‍याउँछ कि भन्ने विषयमा ध्यान दिनुपर्ने बताए ।

‘दुईतिर ठूलठूला जनसंख्या भएका छिमेकी छन् । बिहे गर्न भारततिर अलि धेरै नै सहज छ । चीनतिर अलि असहज भए पनि बिहे हुने गरेको छ,’ अध्यक्ष तिमिल्सिनाले थपे, ‘भोलि यसले राष्ट्रियतामा असर पुर्‍याउँदैन भन्ने हुँदैन । मेरो विचारमा यो निकै महत्वपूर्ण विषय हो ।’ उनले मुलुकको भूराजनीतिक अवस्थालाई ध्यानमा राखेर यसबारे पुनर्विचार गर्नुपर्ने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७