म्यानमारका सेना विद्रोही समूहसँग हार खाँदै


६ पुष २०८०, शुक्रबार
Mynmar
तस्वीर : एजेन्सी

काठमाडौं । म्यानमारका विद्रोही समूहहरू र जातीय सशस्त्र समूहहरू आफ्नै देशको सेनामाथि भारी पर्न थालेका छन् । पछिल्लो समय म्यानमारको सरकारी सेना र विद्रोहीहरुबीच लगातारजसो द्वन्द्व भइरहेको छ ।

विद्रोहीहरूले चिनियाँ सीमानाका थप महत्वपूर्ण क्रसिङ पोइन्टहरू कब्जा गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । शान राज्यको उत्तरी भागमा रहेको कोकाङ स्वशासित क्षेत्रको राजधानी लाउक्काङ टाउनशिपको सीमा नाका अहिले विद्रोहीको कब्जामा छ । यो चीनसँगको सीमामा रहेको पाँचौं क्रसिङ प्वाइन्ट हो ।

चीनले म्यानमारको सैन्य शासनलाई खुलेर समर्थन गर्दै आएको छ । विद्रोहीको यो सफलताले म्यानमारका सैन्य शासक मिन आङ ह्लिङ र चिनियाँ राष्ट्रपति सी चीनपिङको भने चिन्ता बढाएको छ । दुई वर्षअघि म्यानमारको सेनाले नागरिक सरकारलाई अपदस्थ गरी सत्ता कब्जा गरेको थियो ।

त्यसयता म्यानमारमा सैन्य शासन छ । म्यानमारको नेशनल डेमोक्रेटिक एलायन्स आर्मी नामक विद्रोही समूहले लौक्काङ टाउनशिप नजिकै रहेको क्रसिङ प्वाइन्ट कब्जा गरेको छ । तिनीहरूले यो क्रसिङ पोइन्ट कब्जा गर्न अक्टोबर २७ मा पहिलो आक्रमण गरेका थिए । टाउङ नेशनल लिबरेसन आर्मी र अराकान आर्मीले पनि म्यानमारको सेनामाथि आक्रमण गर्न सेनामा सामेल भएका थिए । यी समूहले आफूलाई थ्री ब्रदरहुड एलायन्स पनि भन्छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७