कैलालीमा पहिलो पटक समलिङ्गी विवाह दर्ता


८ पुष २०८०, आईतवार
prakash chaudhary manila neupane

कैलाली । कैलालीमा पहिलो पटक समलिङ्गी विवाह दर्ता भएको छ । हिन्दु परम्परा अनुसार चार वर्ष अघि विवाह गरेका कैलारी गाउँपालिका–८ का प्रकाश चौधरी र दाङको तुलसीपुर उपमहानगरपालिका– १ बस्ने मनिला न्यौपानेले विवाह दर्ता गरेका हुन् ।

शुक्रबार कैलारी गाउँपालिका–८ को वडा कार्यालयले उनीहरूलाई विवाह दर्ताको प्रमाणपत्र उपलब्ध गराएको हो । गत १२ असारमा सर्वोच्च अदालतले समलिङ्गी विवाहलाई मान्यता दिएपछि कैलालीमा चौधरीको जोडीले पहिलो पटक विवाह दर्ता गराएका हुन् ।

यसअघि लमजुङको दोर्दी गाउँपालिकाले नेपालमै पहिलो पटक समलिङ्गी जोडी माया गुरुङ र सुरेन्द्र पाण्डेको विवाह दर्ता गराएको थियो । शनिबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा निलहिरा समाजका अध्यक्ष पिंकी गुरुङले दिएको जानकारी अनुसार कैलाली जिल्लामा पनि तेस्रो लिङ्गी विवाह दर्ता भएको छ ।

समलिङ्गी विवाह गरेका प्रकाश र मनिलाले आफूहरूको विवाहले कानुनी मान्यता पाएको भन्दै खुशी व्यक्त गरेका छन् । ‘लामो सङ्घर्षपछि आज हामीलाई एउटा खुशी मिलेको छ । हामीले परम्परागत रुपमा विवाह गरेको चार वर्षपछि कानुनीरुपमै विवाह दर्ता प्रमाणपत्र पाएका छौँ,’ प्रकाशले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७