दुई नेपालीको अपहरण गरी फिरौती माग्ने ६ भारतीय सीतामढीबाट पक्राउ


११ पुष २०८०, बुधबार
ap

चितवन । दुई नेपालीको अपहरण गरेको आरोपमा ६ जना भारतीय अपहरणकारी सीतामढीबाट पक्राउ परेका छन् ।
चितवनको भरतपुरका कृष्ण थापा र रत्ननगरका दीपेन्द्र महतको अपहरण गरेको आरोपमा ६ भारतीयहरू पक्राउ परेका जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

पक्राउ पर्ने भारतीयहरूमा रामनरेश कुमार, मोहम्मद अकबर, मोहम्मद नइम, कौसर अली, मोहम्मद सदाब र मोहम्मद इरसाद रहेका रौतहटका प्रहरी नायव उपरीक्षक एलिजा गिरीले जानकारी दिइन् । यही पुस ५ गते रौतहटको चन्द्रपुर जान मोटरसाइकल लिएर हिँडेका थापा र महत अपहरणमा परेका थिए । पुस ७ गते थापाले फेसबुक मेसेन्जरमा श्रीमतीलाई कल गरेर अपहरणमा परेको र अपहरणकारीले आफूलाई मुक्त गर्न ६ लाख रुपैयाँ फिरौती मागेको जानकारी गराएपछि प्रहरीले भारतीय प्रहरीसँग सहयोग मागेको थियो ।

भारतीय प्रहरीको सहयोग र समन्वयमा भारतको सीतामढीबाट हिजो दुवै जनालाई सकुशल उद्धार गरिएको थियो । उद्धारपछि दुवैजनाको स्वास्थ्य परीक्षण गरेर परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

भारतीय प्रहरीले खोजतलास गर्दा हिजो (मंगलवार) भारतको सीतामढी डुम्रा थानाको भारतीय प्रहरीको टोलीले अपहरणमा परेका थापा र महतलाई सीतामढीबाट उद्धार गरेको थियो । भारतीय प्रहरी टोलीले अपहरणमा संलग्न ६ जनालाई पक्राउ गरेको थियो । पीडितबाट अपहरण तथा शरीर बन्धक कसुरमा उजुरी लिएर भारतको सीतामढी प्रहरीले अपहरणकारीविरुद्ध अनुसन्धान अघि बढाएको जानकारी नेपाल प्रहरीले दिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७