प्रधानमन्त्रीले मन्त्री हेरफेर गर्न चाहेमा कांग्रेस बाधक नबन्ने


१२ पुष २०८०, बिहीबार
congress

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसले प्रधानमन्त्रीले मन्त्री हेरफेर गर्न चाहे आफू बाधक नबन्ने जनाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज (बिहीबार) बसेको केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस नेता मीनबहादुर विश्वकर्माले गठबन्धन दलका शीर्ष नेताहरूसँगको परामर्शबाट प्रधानमन्त्रीले मन्त्रीहरू हेरफेर गर्नसक्ने जानकारी दिएका हुन् ।

उनले मन्त्री हेरफेरको अधिकार प्रधानमन्त्रीको भएकाले जुनसुकै बेला हेरफेर गर्न सक्ने बताए । उनले भने, ‘मन्त्री हेरफेरको अधिकार प्रधानमन्त्रीको हो । संसदीय व्यवस्था भनेको प्रधानमन्त्रीय व्यवस्था हो । प्रधानमन्त्रीले आफूलाई असहज भएमा गठबन्धन दलका शीर्ष नेताहरूसँगको परामर्शबाट जुनसुकै बेलामा मन्त्री हेरफेर गर्नसक्ने प्रावधानमा कांग्रेस अवरोध बन्दैन ।’

कांग्रेस केन्द्रीय समितिको आजको बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको प्रस्ताव पेस गरेको नेता विश्वकर्माले जानकारी दिए । प्रस्तावमा पार्टीको साङ्गठनिक गतिविधि, महासमितिको तयारी, मेलमिलाप दिवस, समुदायमा कांग्रेस कार्यक्रम, मन्त्रालयका कार्यसम्पादन भएका विषयहरूमा मन्त्रीको धारणा सुन्ने र त्यसमाथि छलफल शुरु गर्ने काम भएको उनले बताए ।

बैठकमा राष्ट्रिय सभा सदस्य उम्मेदवार मनोनयन, साङ्गठनिक विषयलगायतका विभिन्न पाँच वटा विषयमा पनि छलफल भएको नेता विश्वकर्माको भनाइ छ । आजको बैठकमा पार्टीबाट सहभागी मन्त्रीहरूमध्ये स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले आफूले सरकारमा गरेका कामबारे जानकारी गराएको र बाँकी मन्त्रीहरूले भोलि शुक्रवारको बैठकमा जानकारी गराउने उनले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७