त्रिशूलीमा खसेको जीपका चालक भागेको आशंका, अमला लिएर आएका थिए काठमाडौं


२ माघ २०८०, मंगलवार
Trishuli gotakhor
फाइल फोटो

काठमाडौँ । त्रिशूली नदीमा आज (मंगलबार) विहान खसेको भारतीय नम्बर प्लेटको बोलेरो जीपका चालक फरार भएको आशंका गरिएको छ ।

नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुल नजिकबाट मंगलबार बिहान त्रिशूली नदीमा जीप खसेको थियो । खोजी सिलसिलामा भारतीय नम्बर प्लेट बिआर ०९ जिसी १४३० नम्बरको बोलेरो जीप फेला परेको थियो । बिहान ४ः५० बजे नदीभित्र बत्ती बलेको जस्तो देखिएपछि सशस्त्र प्रहरीको गोताखोर टोलीले परिचालन गरिएको थियो । त्यस क्रममा सेतो रंगको सिंगल क्याप जीप त्रिशूली नदीमा फेला परेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारीले बताए ।

उनका अनुसार एक जना ट्यांकर चालकले जीपबाट चालक निस्केको देखेको बताएका छन् । ‘ट्यांकर चालकले जीपका चालक भागेको देखेको बताएका छन्, उनलाई खोजिरहेका छौं,’ भण्डारीले भने । बिहान नदीमा रातो बत्ती बलेपछि सवारी साधन खसेको अनुमान गरी खोजी थालिएको थियो । सशस्त्रको गोताखोरले जीप फेला पारे पनि त्यसमा यात्रुहरू थिएनन् । नदीमा खसेको भारतीय गाडीमा चालक मात्रै रहेको खुलेको हो ।

भारतबाट भैरहवाको सुनौली नाका हुँदै बोलेरोमा अमला लिएर पुस २९ गते काठमाडौँ आएका सवारी चालक भारतको बिहारका सनिककुमार सोमबार फर्किएका थिए । कालीमाटीस्थित काठमाडौँ सोलुसन ट्रेडर्समा अमला छाडेर उनी सोमबार त्यहाँबाट सुनौली नाका हुँदै भारत जान बाटो लागेका थिए ।

काठमाडौं सोलुसन ट्रेडर्सले दिएको जानकारी अनुसार उक्त गाडीमा चालक सनिककुमार मात्रै थिए । ‘यो नम्बरको गाडी त हाम्रोमा सामान लिएर आएको थियो । हिजो हाम्रोमा अमला छाडेर फर्किएको थियो । त्रिशुलीमा खसेको कुरा हामीलाई त थाहै थिएन । अब बुझ्छौं’, उनले भने । ‘अहिलेसम्म कोही यात्रु फेला परेको स्थिति छैन,’ जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक भण्डारीले भने, ‘मोटरबोटबाट खोजी गरिरहेका छौं ।’ जीप सडकबाट करिब एक सय मिटर तल खसेको थियो । जीपमा कति व्यक्ति सवार थिए भन्ने यकिन भइसकेको छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७