सन् २०२६ सम्ममा ‘पूर्ण खोप सुनिश्चित’ को लक्ष्यमा पुग्न गाह्राे छ : स्वास्थ्यमन्त्री बस्नेत


९ माघ २०८०, मंगलवार
Mohan basnet scaled

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले पूर्ण खोप सुनिश्चित गर्न परिणामुखी तथा गुणस्तरीय सेवामा सक्रिय हुनुपर्नेमा जोड दिएका छन् ।

स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाद्वारा आयोजित ‘राष्ट्रिय दादुरा–रुबेला खोप अभियान २०८०/८१ सम्बन्धी उच्चस्तरीय बैठक’ मा मन्त्री बस्नेतले सन् २०२६ मा पूर्ण खोप सुनिश्चित गर्ने लक्ष्यलाई हासिल गर्न सम्बन्धित निकाय दृढ इच्छाशक्तिसहित उपलब्धिमूलुक काममा सक्रिय हुन आवश्यक रहेकोमा जोड दिए । नेपाल सरकारको उच्च प्रथामिकतामा सञ्चालित खोप कार्यक्रमको वर्तमान अवस्थाप्रति उहाँले असन्तुष्टि जनाउँदै कामलाई सुधार गर्न जरुरी रहेको बताए ।

‘हाल ५२ प्रतिशत मात्रै पूर्ण खोप सुनिश्चितता भएका अवस्थामा यति गतिमा जाँदा सन् २०२६ मा लक्ष्य हासिल गर्न गाह्रो छ’, मन्त्री बस्नेतले भने, ‘परिणामुखी काममा मन्त्रालय सहजीकरणका लागि तयार छ ।’ खोप सेवाले बालबालिकाको रोगदर, मृत्युदर र अपाङ्गताको दरमा कमी ल्याउने भन्दै उहाँले सरकार स्वास्थ्य सुधारप्रति गम्भीर र जिम्मेवारी रहेको बताए ।

मन्त्रालयका सचिव डा. रोशन पोखरेलले यसका लागि तीन वटै तहबीच समन्वयन हुन नसकेको भन्दै आगामी दिनमा यसमा सुधार आवश्यक रहेको बताए । राष्ट्रिय योजना आयोगका सदस्य आरपि विच्छाले १६औं पञ्चवर्षीय योजनामा खोपमा कसरी आत्मनिर्भर बन्ने सम्बन्धमा योजना समेटिएका बताए । उनले खोप कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।

‘आवश्यक खोप मुलुकभित्रै उत्पादन गर्नुको विकल्प छैन । सङ्कटको समयमा प्रणालीलाई सुदृढ बनाइ सवल बनाउनु पर्छ । मितव्ययिता अपनाएमा लक्ष्य प्राप्त गर्न कठिनाइ छैन तथ्याङ्क र अभ्यासमा एकरुपता हुनुपर्छ’, उनले भने । महाशाखाका निर्देशक डा. विवेककुमार लालले हालसम्म ७२ जिल्ला र सात सय ३३ स्थानीय तह पूर्णखोप घोषणा भइसकेको जानकारी दिँदै सङ्ख्यामा मात्र नभइ गुणस्तरीयता कायम गर्न जरुरी रहेको बताए ।

महाशाखाले चार-पाँच वर्षको अन्तरालमा खोप अभियान सञ्चालन गर्दै आएको छ । खोप अभियान प्रभावकारी रहेको आयोजकले जनाएको छ । नेपालमा विसं २०३४ मा विस्तारित खोप आयोजनाको रुपमा प्रारम्भ भएको खोप कार्यक्रम हाल राष्ट्रिय खोप कार्यक्रमको रुपमा विस्तार भई नेपाल सरकारको उच्च प्रथामिकतामा सञ्चालित छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७