कोशी, बागमती र गण्डकीमा हिमपातको सम्भावना, तराईमा हुस्सु

काठमाडौंमा आज यो वर्षकै सबैभन्दा कम तापक्रम


१३ माघ २०८०, शनिबार
Jado aagi siraha scaled

काठमाडौँ । अहिले नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसमविदले जनाएका छन् । आज कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । तराईका अधिकांश स्थानहरूमा हुस्सु÷कुहिरो लाग्ने हुँदा दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने महाशाखाको भनाई छ । चिसोबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन अनुरोध छ ।

भोलि (आइतबार) कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

काठमाडौंमा आज (शनिबार) यो वर्षको हालसम्मकै न्यून तापक्रम मापन गरिएको छ । बिहान ५ः४५ बजे काठमाडौंको न्यूनतम तापक्रम २.९ डिग्री सेल्सियस मापन गरिएको मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन् । ‘यो यस वर्षको हालसम्मकै न्यून तापक्रम हो । आजै तापक्रम पौने ९ बजे योभन्दा पनि कम मापन हुनसक्छ । तर हुन्छ नै भन्ने निश्चित भने हुँदैन’, उनले भनिन् । बिहीबार र शुक्रबार काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस रहेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७