प्रधानमन्त्री कप क्रिकेट : बागमती प्रदेशको छैटौं जित


१३ माघ २०८०, शनिबार
pm cup

काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा बागमती प्रदेश विजयी भएको छ । कीर्तिपुर मैदानमा लुम्बिनी प्रदेशलाई ६ विकेटले पराजित गर्दै समूह चरणको अन्तिम खेलसहित समग्रमा ६ खेलमा जित हात पार्न सफल भयो ।

लुम्बिनीले पहिला ब्याटिङ गर्दै ३२.२ ओभरमा १०६ रन बनाएको थियो । लुम्बिनीका लागि शुसान्त थापाले २८ रन बनाउँदा निर्मल गुरुङले २७ रन नटआउट बनाए । यसैगरी प्रज्वल थापाले १४ रन बनाउँदा विराट भण्डारीले १३ रन बनाए । बागमतीका सूर्य तामाङले सर्वाधिक ६ विकेट लिँदा विपिन आचार्यले २ विकेट लिए ।

यस्तै, प्रतिश जिसी र कृजन गुरुङले एक एक विकेट लिए । १०७ रनको लक्ष्यसहित मैदान उत्रिएको बागमती प्रदेशले १७.२ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको हो । बागमतीलाई जिताउन इशान पाण्डेले ५० रनको अर्धशतकीय पारि खेले । उनले ५४ बल फेस गर्दा २ छक्का र ५ चौका प्रहार गरेका थिए । यसैगरी कप्तान रित गौतमले २४ रन नाउँदा आसुतोष घिररैयाले १४ रन बनाए । रविन जोशीले नटआउट ७ रन बनाए । लुम्बिनीका निर्मल गुरुङले २ विकेट लिँदा कृष्ण कार्की र अभिषेक गौतमले एक एक विकेट लिए ।

यसैबीच, ६ मा जित र ३ खेलमा हार व्यहोरेको बागमती १२ अंकका साथ तालिकाको दोस्रो स्थानमा रहेको छ । शीर्ष २ ले फाइनल खेल्ने तालिका अनुसार बागमतिको फाइनल खेल्ने सम्भावना रहे पनि अन्य खेलको नतिजामा भर पर्नुपर्छ । पुलिस अहिले ६ खेलबाट शतप्रतिशत जित निकाल्दै शीर्ष स्थानमा रहेको छ । अझैं पुलिसका ३ खेल बाँकी छन् । यसगरी मधेश प्रदेश १० अंकसहित तेस्रो स्थानमा रहेको छ । उसको पनि एक खेल बाँकी छ ।

चौथो स्थानमा त्रिभुवन आर्मी क्लब ६ खेलबाट ८ अंकका साथ रहेको छ । पाँचौ स्थानमा रहेको सुदूरपश्चिम प्रदेशको पनि ८ अंक रहेको छ । यसैगरी एपीएफ र कर्णाली ६–६ अंकका साथ तालिकाको छैटौं र सातौं स्थानमा रहँदा गण्डकी प्रदेश ४ अंक जोडेर तालिकाको आठौ स्थानमा छ । २ अंक मात्रै बनाएको लुम्बिनी नवौं र अंक नै जोड्न नसकेको कोशी प्रदेश पुछारमा रहेको छ । तालिकाको शीर्ष ४ मा अटाउने टिमले चैत वैशाखमा एलिट ट्रफीका लागि प्रतिस्पर्धा गर्ने नेपाल क्रिकेट संघ क्यानले सार्वजनिक गरेको क्यालेन्डरमै उल्लेख गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७