हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध, यात्रु अलपत्र

हिमपातसँगै चिसो बढ्यो, वन्यजन्तु चोरी सिकारीको चिन्ता


१८ माघ २०८०, बिहीबार
snow dang 2 1 scaled

बागलुङ । आज (बिहीबार) बिहानदेखि परेको हिमपातका कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । बागलुङको निसीखोला र पूर्वी रुकुमको सिमाना पातिहाल्नेमा परेको हिमपातले लोकमार्ग अवरुद्ध भएको हो ।

snow dang

बिहानदेखि निरन्तर हिमपात हुँदा पूर्वी रुकुमदेखि काठमाडौँ, पोखरा जाने यातायातका साधन ठप्प भएको निसीखोला गाउँपालिका–६ का नीरज घर्ती मगरले जानकारी दिए । बागलुङको बुर्तिबाङदेखि रुकुम, जाजरकोटलगायतका स्थानमा पुग्ने यातायातका साधन निसीखोलामा अलपत्र परेको उनको भनाइ छ । हिउँ नपन्छ्याएसम्म यात्रा गर्न नसकिने घर्ती मगरले बताए ।

निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीले हिमपात भइरहेको हुँदा आज सडक खुलाउन नसकिने बताए । शुक्रबार बिहान हिमपात रोकियो भने हिउँ पन्छ्याएर सडक खुलाइने उनको भनाइ छ । उनका अनुसार सडकमा अलपत्र परेका यात्रुलाई होटलमा व्यवस्थापन गरिने छ । उनले भने, ‘हिउँ पर्न रोकिएको छैन, यो समयमा यात्रा गर्न निकै कठिन हुन्छ, सकेसम्म हिउँ नपग्लिँदासम्म यात्रा नगरेको राम्रो, गाडी चिसोका कारण बिग्रिने सम्भावना बढी हुन्छ, अहिले सवारी साधन चलेका छैनन्, हामीहरुले हिमपात रोकियो भने खुलाउने प्रयास गर्ने छौँ ।’

snow dang 3

यता ढोरपाटन सिकार आरक्ष क्षेत्र पनि हिमपातले सेताम्य बनेको छ । बिहानैदेखि हिमपात हुँदा स्थानीयको जनजीवन कष्टकर भएको छ । वर्षासँगै परेको हिमपातका कारण स्थानीय घरबाट बाहिर निस्किन सकेका छैनन् । ढोरपाटन उपत्यकासहित माथिल्लो क्षेत्र पूरै हिउँले ढाकिएको स्थानीय होटल व्यवसायी गङ्गाबहादुर भण्डारीले जानकारी दिए ।
हिमपातसँगै चिसो बढ्यो, वन्यजन्तु चोरी सिकारीको चिन्ता
बाजुरा । बुधबारबाट भएको मौसम बदलीसँगै जिल्लाको लेकाली भेगमा हिमपात भएको छ । एकाएक मौसममा बदली भएर वर्षा हुन थालेपछि हिमपात सुरु भएको हो । जिल्लाका नौवटै पालिकाका लेकाली र तल्लो क्षेत्रमा हिमपात हुन थालेको छ । पाँच महिनापछि वर्षासँगै हिमपात भएपछि किसान खुसी भएका छन् । पूर्वी उत्तरी भेगको हिमाली गाउँपालिकाका विच्छ्याँ र रुगिन, बुढीनन्दा नगरपालिका, गौमुल गाउँपालिकाका लेकाली उच्च लेकाली भेगमा भारी हिमपात भएको छ ।

snow fall dang

यस्तै जगन्नाथ, स्वामीकार्तिक, बडीमालिका, खप्तड छेडेदह र त्रिवेणी नगरपालिकाका लेकाली क्षेत्रमा हिमपात भएको हो । बेंसीतिर पानी पर्दा अत्यधिक मात्रामा जाडो बढेको छ । बुधबार रातिदेखि उच्च हिमाली क्षेत्रका धेरै ठाउँमा परेको भारी हिमपातले जनजीवन कष्टकर बनाएको छ । बडीमालिका र बूढीनन्दा नगरपालिका लगायतका उच्च हिमाली क्षेत्र यस वर्ष कात्तिक अन्तिम साताबाट सेताम्मे हुने चुचुरा केही वर्षदेखि भने माघको मध्यतिर पुगेर सेताम्मे बनेका छन् ।

 जिल्लाका हिमाली गाउँपालिका, बडिमालिका नगरपालिका, गौमुल गाउँपालिका, त्रिवेणी नगरपालिकाका, खप्तड छेडेदह गाउँपालिका, स्वामीकार्तिक खापर गाउँपालिका, जगन्नाथ गाउँपालिकाका लेकाली भूभागमा हिमपातसँगै वर्षा भइरहेको जानकारी प्राप्त भएको छ । वर्षा र हिमपात भएपछि बस्तुभाउ घाँस दाउराको समेत समस्या भएर जनजीवन नै कष्टकर बनेको स्थानीयले बताएका छन् । 

हिमपातका कारण सदरमुकाम मार्तडीलगायतका विद्यालयसमेत प्रभावित भएका छन् । चिसोसँगै हिमपात भएपछि विद्यालयबाट टाढा रहेका विद्यार्थीलाई आवतजावतमा समेत समस्या हुँदा पठनपाठनमा समस्या भएको छ । लामो समयदेखि पानी नपर्दा समस्यामा परेका किसान भने वर्षासँगै भारी हिमपात भएपछि खुसी भएका छन् ।

हिउँदे वर्षाका कारण पहाडी क्षेत्रमा लगाइएका विभिन्न बालीलाई फाइदा पुगेको बडीमालिका नगरपालिका–३ रजालीका कृषक कमल रावलले बताए । वर्षाले विभिन्न अन्नबाली, फलफूल र तरकारीलगायत किसानलाई फाइदा पुग्ने जिल्ला कृषि ज्ञान केन्द्रका निमित्त कार्यालय प्रमुख मीनप्रसाद जैशीले बताए । हिमपातका कारण जिल्लाको उत्तरी क्षेत्रका चार स्थानीय तह र हुम्ला, मुगु तथा कालीकोटका केही स्थानीय तह जोड्ने मार्तडी कोल्टी सडकखण्डमा पर्ने बडिमालिका र बूढीनन्दा नगरपालिकाको पोरखे लेकमा हिमपात हुँदा त्यो क्षेत्रमा चल्ने यातायात सेवा प्रभावित भएको छ ।
वन्यजन्तु चोरी सिकारीको सम्भावना बढ्यो
वर्षासँगै हिमपात हुन थालेपछि लेकाली भेगबाट चिसोबाट बच्नका लागि बँेसी झर्ने जङ्गली जनावरको चोरी सिकारी बढ्ने भएको छ । हिमपात भएपछि चिसो छल्न बेँसी आउने हरिण, मृग रतुवालगायतका जनावरको चोरी सिकारी बढ्ने सम्भावना बढेको डिभिजन वन कार्यालयले जनाएको छ ।

वनजङ्गलमा रहेका वन्यजन्तुको स्थानीयले भाला, बन्दुक प्रयोग गरेर उनीहरुको चोरी सिकारी गर्ने सम्भावना बढेको डिभिजन वन कार्यालयका सूचना अधिकारी सुवासचन्द्र अयडीले बताए । अयडीले वन्यजन्तुको चोरी सिकारी रोक्न डिभिजन वन कार्यालयले सुरक्षाकर्मीको सहयोगमा वन्यजन्तु चोरी सिकारी रोक्ने बताए । चोरी सिकारीका घटना भएको पाइएमा वन ऐनअनुसार कारबाही गरिने उनले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७