हुम्लामा विहानैदेखि पुनः हिमपात : हवाइ उडान अवरुद्ध, चिसोले घर बाहिर निस्किन मुस्किल


२१ माघ २०८०, आईतवार
snow humla simkot 2

हुम्ला । हुम्लामा पुनः आज (आइतबार) बिहानदेखि हिमपात भइरहेको छ । यस वर्ष जिल्लामा चौंथो पटक हिमपात भएको हो । शनिबार दिउँसो घाम लागेको भए पनि राति एक्कासी मौसममा फेरबदल भई बाक्लो बादल लागेर आज बिहानदेखि हिमपात भइरहेको छ । बिहानदेखि हिमपात भइरहँदा सदरमुकाम सिमकोटमा एक इञ्च बढी हिउँ जमेको छ भने उत्तरी नाम्खा गाउँपालिकाको लिमीमा दुई इञ्च बढी हिउँ जमेको लिमी स्वास्थ्य चाैकीका स्वास्थ्यकर्मी गोखर भण्डारीले बताए ।

स्वास्थ्यकर्मी भण्डारीकाअनुसार लिमीमा अत्यधिक चिसो बढेकाले जनजीवन कष्टकर बनाएको बताए । चिसोले लिमीका स्थानीयलाई समस्या बनाएको बताए । चिसोका कारण घर बाहिर निस्कन र हिँड्डुल गर्न समस्या बनाएको उनले जानकारी दिए । उत्तरी नाम्खा गाउँपालिकाको लिमी, हिल्सा, नारालेख, याङ्गारलगायतका उच्च भागमा बाक्लो हिउँ जम्नुका साथै हिमपात भइरहेको छ ।

snow humla simkot 1

उत्तरी नाम्खा, सिमकोट, खार्पुनाथलगायत अधिकांश उच्च क्षेत्रमा बिहान हिमपात भइरहेको छ भने होचो स्थानमा पानी परिरहेको छ । यस पटक लगातार दुई दिनपछि परेको हिमपातले जेठासी बाली गहुँ, जौ, उवालाई राम्रो हुनुका साथै कात्तिके बाली लगाउनमा सहयोग भएको स्थानीय कमल भण्डारीले बताए ।

जिल्लाको एक मात्रै अन्तर जिल्ला जोड्ने यातायातको साधन हवाई सेवा अवरुद्ध भएको छ । यतिबेलासम्म एक–दुई उडान नेपालगञ्ज, सुर्खेतबाट गरिसक्ने निजी एयरलाइन्सका सेवा अवरुद्ध भएको हो । आज बिहानैदेखि हिमपात हुँदा नेपालगञ्ज, सुर्खेतबाट हवाई उडान हुन नसकेको हो भने हुम्लाबाट नेपालगञ्ज, सुर्खेत जाने यात्रु सिमकोटमै रोकिएका छन् । शनिबार तारा एयरले नेपालगञ्जबाट एक उडान गरेको सोही एयरलाइन्स सिमकोट शाखा कार्यालयका लोकेन्द्र बोहराले बताए । अन्य कुनै पनि जहाजले उडान भर्न नसकेका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७