बारा विष्फोट : घाइते थप एक युवकको पनि मृत्यु, दुईको अवस्था गम्भीर


१५ फाल्गुन २०८०, मंगलवार
bisfot MdQQC4d8v7

बारा । बाराको निजगढमा हिजो (सोमबार) दिउँसो शंकास्पद वस्तु विष्फोट हुँदा मृत्यु हुनेको संख्या दुई पुगेको छ । विष्फोटमा परी गम्भीर घाइते भारतीय नागरिक ३५ वर्षीय राकेश जैसवालको पनि मृत्यु भएपछि सो घटनामा मृत्यु हुनेको संख्या दुई पुगेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक (एसपी) सुरेश काफ्लेले जानकारी दिएका छन् ।

भारतको गवाई घर भएका जैसवाल लेथका मिस्त्री हुन् । निजगढ नगरपालिका–७ मा रेशम मगरले सञ्चालन गर्दै आएको रोहित वर्कशप लेथमा सोमबार दिउँसो कबाडीबाट ल्याएको शंकास्पद बस्तु विष्फोट भएको थियो । विष्फोटमा गम्भीर घाइते निजगढ–५ का ४५ वर्षीय रेशम मगरको त्यतिबेलै मृत्यु भएको थियो । उनी लेथका सञ्चालक हुन् ।

गम्भीर घाइते भएका मगरलाई उपचारको लागि बयोधा अस्पताल वीरगञ्जमा पुर्‍याउना साथ चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ । विष्फोटमा घाइते भारतीय नागरिक जैसवालको गए राति वीरगञ्जस्थित बयोधा अस्पतालमै मृत्यु भएको एसपी काफ्लेले जानकारी दिए । उनका अनुसा विष्फोटमा परेर थप चार जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ । उनीहरुको बयोधामै उपचार चलिरहेको छ ।

विष्फोटमा परेर निजगढ नगरपालिका–५ का ४५ वर्षीय सूर्यबहादुर थापा, पर्सा वीरगञ्ज महानगरपालिका–९ घर भएका ३४ वर्षीय फिरोज देवान, वीरगञ्ज–९ का २० वर्षीय रितु रजत र भारतको रामघडवा घर भएका २० वर्षीय अरविन साह घाइते भएका थिए । घाइतेमध्ये बयोधाको आईसीयूमा उपचार भइरहेका अरविन र रितुको अवस्था गम्भीर रहेको एसपी काफ्लेले जानकारी दिएका छन् ।

वर्कशपमा ग्राहकले ल्याएको शंकास्पद बस्तु लेथमा काट्ने क्रममा विष्फोट भएको प्रहरीले जनाएको छ । उक्त विष्फोट पदार्थ के थियो प्रहरीले अझै आधिकारिक जानकारी गराएको छैन । घटनाको विषयमा थप अनुसन्धान जारी रहेको एसपी काफ्लेले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७