एमसिए–नेपालले अघि बढायो १८ किमी लामो सीमापार विद्युत् प्रसारण लाइनको काम


२४ फाल्गुन २०८०, बिहीबार
elect
फाइल फोटो

काठमाडौँ । एमसिए–नेपालले विद्युत् प्रसारण आयोजनाअन्तर्गत निर्माण गर्न लागेको ३१५ किमी लामो प्रसारण लाइन सञ्जालबाट १८ किमी लामो बुटवल–गोरखपुर विद्युत् प्रसारण लाइन खण्डलाई छुट्याएर प्राथमिकताका साथ अगाडि बढाउने निर्णय गरेको छ ।

एमसिए–नेपालको सञ्चालक समितिको मङ्गलबार बसेको ४०औँ बैठकले सो निर्णय गरेको एमसिए–नेपालले जनाएको छ । यस सीमापार खण्डसम्बन्धी कामलाई तीव्रता प्रदान गर्दा नेपाल र भारतबीचको सीमापार ऊर्जा व्यापार सम्झौताअन्तर्गतको दायित्व निर्वाह गर्न सहयोग पुग्ने ठहर सञ्चालक समितिले गरेको छ ।

सञ्चालक समितिको बैठकपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव तथा प्रवक्ता नवीनराज सिंहले नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणका लागि यस खण्डको गम्भीरतापूर्ण महत्वलाई दृष्टिगत गर्दै सञ्चालक समितिले उक्त निर्णय गरेको बताए । यस खण्डलाई बृहत् प्रसारण लाइन सञ्जालबाट छुट्याउँदा खरिद प्रक्रिया छिटो सम्पन्न गर्न सकिने र भारतमा निर्माणाधीन प्रसारण लाइनसँग जोड्नका लागि यसको निर्माण २०८३ साल जेठभित्रै सम्पन्न हुने गरी सुनिश्चित गर्ने उनले उल्लेख गरे ।

यो सीमापार प्रसारण लाइन विद्युत् प्रसारण आयोजनाको महत्वपूर्ण अंश हो र यसले नेपालको आवश्यकता पूरा गर्न सीमापार विद्युत् व्यापारलाई सहजीकरण गर्ने छ । नयाँ बुटवल–गोरखपुर सीमापार प्रसारण लाइन निर्माण कार्यको व्यवस्थापन गर्ने वित्तीय तथा स्वामित्व संरचना सम्बन्धमा नेपाल सरकार तथा भारत सरकारबीच २०७६ साल असोजमा सहमति भएको थियो ।

बाँकी २९७ किमी प्रसारण लाइनका सन्दर्भमा, निर्धारित समयावधिभित्रै उक्त प्रसारण लाइनको निर्माण सम्पन्न गर्न डिजाइन–बिल्ड निर्माण कम्पनीको सेवा खरिदका लागि एमसिए–नेपालले काम अगाडि बढाइरहेको छ । एमसिए–नेपालले प्रसारण लाइन समयमै, बजेटभित्रै र नेपाल सरकार एवं एमसिसीको वातावरणीय तथा सामाजिक मापदण्डअनुसार निर्माण हुने सुनिश्चित गर्न प्रतिबद्ध रहेको जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७