अपराध कर्मबाट सम्पति जोडेका सिंहलाई तीन वर्ष कैद, दुई करोड २६ लाख जरिवाना


२४ फाल्गुन २०८०, बिहीबार
adalat

काठमाडौँ । विशेष अदालतले सुनिलकुमार सिंहलाई सम्पति शुद्धिकरण मुद्दामा तीन वर्ष कैद र दुई करोड २६ लाख जरिवाना तोकेको छ । फागुन १५ गते सुनिलकुमार सिंह र उनीकी श्रीमती मिना कार्कीलाई सम्पत्ति शुद्धिकरण मुद्दामा दोषी ठहर गरेको विशेष अदालतले बिहीबार सजाय निर्धारण गरेको हो ।

विशेष अदालतका न्यायाधीश खुसीप्रसाद थारु, तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले सिंहलाई १ करोड १३ लाख १९ हजार ८५१ को दोब्बर २ करोड २६ लाख ३८ हजार ७०२ रुपैयाँ जरिवाना गरेको हो । विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीका अनुसार श्रीमती कार्कीलाई मतियारका रुपमा दोषी ठहर भएको एक वर्ष ६ महिना कैद र एक करोड १३ लाख १९ हजार ८५१ जरिवाना गरेको छ । भारतको उत्तर प्रदेश देवरिया थाना घर भएका सिंहले झुठ्ठा व्योहोरा पेस गरी नेपाली नागरिकताको प्रमाणपत्र र राहदानी समेत लिएका थिए ।

उनीमाथि संगठित रुपमा अपहरण तथा शरीर बन्धक र अवैध हातहतियारको मुद्दा समेत चलेको थियो । शरीर बन्धनक मुद्दामा उनी यसअघि नै दोषी ठहर भइसकेका छन् । कार्कीले विभिन्न १८ वटा बैंक तथा वित्तीय संस्थामा खाता खोली अवैध रुपमा आर्जन गरेको रकम झिक्ने राख्ने गरेको सम्पत्ति शुद्धिकरण विभागको दाबी छ ।

उनीहरुले अवैध रुपमा आर्जन गरेको सम्पत्तिबाट झापा, सुनसरी, भक्तपुर, काठमाडौँसहितका जिल्ला जग्गा फेला परेको आयोगको दाबीलाई विशेषले सदर गरेको छ । विशेषले कार्कीको नाममा रहेको ६ कित्ता जग्गा र त्यसमा बनेको घर जफत हुने सजाय सुनाएको छ । त्यस्तै बैंक ब्यालेन्स तथा शेयर समेत जफत गर्न विशेष अदालतले आदेश दिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७