उम्मेदवारको लागि सुहाङको पनि दाबेदारी

नेकपा (एमाले) इलामले गठन गरेको कार्यदलमा सुहाङले पनि उम्मेदवारको दाबेदारी सहित निवेदन दिएका छन्


२७ फाल्गुन २०८०, आईतवार
Suhang Nembang

इलाम : इलाम क्षेत्र न. २ मा रिक्त प्रतिनिधिसभा सदस्य पदको उम्मेदवारको लागि सुहाङ नेम्वाङले निवेदन दिएका छन् । नेकपा (एमाले) इलामले गठन गरेको उपनिर्वाचनको लागि कार्यदलमा सुहाङले निवेदन दिएका हुन् ।

नेकपा (एमाले)का तात्कालिन उपाध्यक्ष तथा संबिधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि खाली इलाम निर्वाचन क्षेत्र नम्बर २ मा चुनावी चहलपहल बढेको छ । नेम्वाङको गत भदौ २६ गते मृत्यु भएपछि खाली रहेको इलाम निर्वाचन क्षेत्र नम्बर २ मा १५ वैशाखमा उपनिर्वाचन हुदैछ ।

यही निर्वाचनका लागि नेकपा (एमाले) इलामले उपनिर्वाचनका लागि उम्मेदवार चयनको लागि अध्ययन गर्न उपाध्यक्ष उदयबहादुर राईको संयोजकत्वमा सचिव उमेश गुरुङ, उपसचिव विष्णुमाया आचार्य र सदस्यद्वय मुखराज आङ्देम्बे तथा दीपकिशोर लिङ्दम रहेको कार्यदल गठन गरेको थियो ।

उपनिर्वाचनको मिति तोकिएसँगैे सुवासचन्द्र नेम्वाङको छोरा सुहाङ पनि इलाम क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्ने चर्चा चलिरहेको थियो । यही चर्चाकोविच एक साता अघि इलाम आएका सुहाङले उम्मेदवारको दाबेदारी सहित निवेदन दिएका हुन् ।

एमाले इलामका उपाध्यक्ष तथा कार्यदल संयोजक राईले सुहाङले पनि उम्मेदवारीको लागि निवेदन दिएको बताए । उनले भने, ‘हो, सुहाङ पनि निवेदन आएको छ ।’ संयोजक राईका अनुसार उम्मेदवारीको लागि सुहाङ सहित एमाले इलामका उपसचिव रविन्द्र सुवेदी, बुद्धि खनाल, देवी क्षेत्री दुलालले निवेदन दिएका छन् । कार्यदलले आउँदो चैत ३ गतेसम्ममा उम्मेदवारको सूची जिल्ला कमिटीमा पेश गर्ने संयोजक राईको भनाई छ ।

सुहाङले आफूले उम्मेदवार बन्नका लागि निवेदन दिएको बताए । उनले भने, ‘सबै आदरणीय अग्रज, शुभेच्छुक, प्रियजन, साथीभाईको सुझाव अनुसार मैले कार्यदलमा निवेदन दिएको छु । यदि पार्टीले मलाई योग्य ठान्यो भने म प्रतिस्पर्धाका लागि तयार छु ।’

पेशाले अधिवक्ता सुहाङले पछिल्लो समयमा इलाममा गतिबिधि बढाएका छन् । इलाममा ढुक्क गरी बसेर सुहाङले भेटघाट र अन्तरक्रियालाई तिव्रता दिएका छन् । पछिल्लो एक साता यता पेशाले अधिवक्ता सुहाङ दर्जनौं भेटघाट र कार्यक्रममा सहभागी भएका छन् । त्यसो त सुहाङ यसविचमा आएका प्रतिक्रियाले उत्साही भएका छन् । इलामका विभिन्न कार्यक्रमहरुमा सहभागी बन्दा उनीसँग संवाद गर्ने, तस्बिर खिच्नेहरुको भिड लागेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७