सहकारीको ऋण नतिर्ने छुट कसैलाई छैन, सञ्चालकलाई जेल हाल्नु हुँदैन : कानूनमन्त्री गिरी


१ चैत्र २०८०, बिहीबार
Padam giri 3
फाइल फोटो

काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले सहकारीका सञ्चालकको गल्तीले मात्रै सहकारीमा समस्या नआएको टिप्पणी गरेका छन् । आज (बिहीबार) बाट काठमाडौँमा शुरु भएको राष्ट्रिय सहकारी महासंघको आयोजना गरेको प्रथम सहकारी डिजिटल कन्क्लेभमा बोल्दै मन्त्री गिरीले यस्तो बताएका हुन् ।

उनले सहकारीका सञ्चालकको मात्रै गल्तीले सहकारीमा समस्या नआएको भन्दै राज्यले समयमा नियमन नगर्दा अहिलेको परिस्थिति आएको औंल्याए । उनले सहकारीमा समस्या आए पनि समाधानको लागि राज्यले लिएको कार्यशैली गलत भएको बताए । कानूनमन्त्री गिरीले सहकारीबाट ऋण लिएर ठूलाठूला हाउजिङ र गाडीमा लगानी गर्दा राज्य र नियामक निकाय रमिते बन्दा यस्तो अवस्था आएको उल्लेख गरे ।

सहकारीको नियमन गर्न बसेका निकायहरूले राज्यबाट सुविधा लिने तर ठूलो समस्या आउँदा ध्यान नदिने कुरा राम्रो पक्ष नभएको उनको भनाई छ । उनले आम जनताको बचतबाट ऋण लिएकाले समयमै ऋणको साँवा, ब्याज चुक्ता गर्न जरुरी रहेको बताए । उनले ऋण नतिर्ने छुट कसैलाई नभएको भन्दै कतिपय ऋणीका कारण सहकारीहरू समस्यामा परेको बताए ।

उनले विधि,पद्धति,सहकारीका मूल्यमान्यता र सिद्धान्त भन्दा बाहिर गएर ऋण प्रवाह गर्नेलाई कानून बमोजिम कारबाही हुनुपर्ने बताए । जुनसुकै हिसावमा सहकारीबाट लिएको ऋण ऋणीले तिर्नुपर्नेमा जोड दिए । उनले सहकारीका सञ्चाललाई थुनेर मात्रै बचत फिर्ता नहुने भन्दै समयमै प्रभावकारी नियमन नहुँदा समस्या आएकाले समाधानको निम्ती पनि समय दिनुपर्ने उनको भनाई छ ।

उनले सञ्चालकलाई जेल पठाएर सहकारीका बचतकर्ताको बचत फिर्ता हुन नसक्ने धारणा राखे । उनले सहकारीमा पारदर्शिता र विश्वसनीयता कायम गर्न प्रविधिको प्रयोग अनिवार्य रहेको बताए । उनले प्रविधिमार्फत सदस्यहरूलाई संस्थाको हरेक गतिविधिका बारेमा जानकारी दिनसके विश्वास बढ्ने उल्लेख गरे । पारदर्शीताको अभावले केही सहकारीमा समस्या आएकाले प्रविधिमा साक्षत्कार हुँदै सहकारी अगाडि बढ्न आवश्यक रहेको उनको धारणा थियो ।

राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्लले सहकारीमा बढ्दै गएको कुशासन र अपारदर्शीता हटाउनको लागि प्रविधिमैत्री बनाउन आवश्यक रहेको बताए । उनले सहकारीका सदस्यहरूलाई छिटो छरितो र पारदर्शी रूपमा सेवा दिनको लागि सहकारीलाई प्रविधिमैत्री बनाउन जरुरी रहेको बताए । अध्यक्ष मल्लले सहकारीहरूमा पेपरलेस बनाउनको लागि सहकारीलाई डिजिटल फर्ममा ल्याउनुपर्नेमा जोड दिए । उनले डिजिटल प्रविधि सहकारीलाई पेपरलेस बनाउने खुड्कीलोको रूपमा लिनुपर्ने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७