लामो प्रतीक्षापछि संघीय निजामती सेवा विधेयक प्रतिनिधिसभामा पेस


१ चैत्र २०८०, बिहीबार
Bhanubhakta Joshi

काठमाडौँ । लामो प्रतीक्षापछि संघीय निजामती सेवा विधेयक प्रतिनिधिसभामा पेस भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले ‘संघीय निजामती सेवा विधेयक, २०८०’ पेस गरे । विधेयक पेस गर्दै मन्त्री जोशीले राज्यको पुनःसंरचना सँगसँगै प्रशासनिक पुनःसंरचना प्रस्ताव संघीय निजामती सेवा सञ्चालनका लागि कर्मचारीको सेवा, सर्त र सुविधासम्बन्धी कानुनलाई संघीयताअनुरुप सञ्चालन, व्यवस्थापन गर्नुपर्ने आवश्यकतालाई सम्बोधन गर्न कानुन ल्याइएको बताए ।

उनले मुलुकको प्रशासनिक प्रणालीलाई शासकीय व्यवस्थाअनुरुप सुव्यवस्थित, कार्यात्मक र नतिजामुखी तुल्याउन एवं प्रशासनिक संघीयतालाई प्रभावकारी बनाउन संघीय निजामती सेवा ऐन जारी गर्नुपर्ने आवश्यकता रहेका औँल्याए । मन्त्री जोशीले निजामती कर्मचारीलाई राजनीतिकरुपमा तटस्थ, पेसागतरुपमा सक्षम, समावेशी, व्यावसायिक, सहभागितमूलक, उच्च मनोबलयुक्त र नैतिकवान् बनाइ राज्यका तर्फबाट प्रदान गरिने सेवालाई प्रभावकारीरुपमा सञ्चालन गर्न संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवा सर्तसम्बन्धी व्यवस्था गरिनु वाञ्छनीय भएकाले विधेयक ल्याइएको बताए ।

उनले निजामती सेवालाई राष्ट्रहित, संघीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध, राजनीतिकरुपमा तटस्थ, पेसागतरुपमा सक्षम, सुदृढ, उत्तरदायी र व्यावसायिक बनाउँदै सुशासनमुखी संयन्त्रका रुपमा व्यवस्था गर्न आवश्यक भएकाले संघीय निजामतीसम्बन्धी विधेयक प्रतिनिधिसभामा प्रस्तुत भएको बताए । मन्त्री जोशीले विधेयकले संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी व्यवस्थापन गर्न सहज हुने बताए ।

त्यसअघि ‘संघीय निजामती सेवा विधेयक, २०८०’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले राखेको विरोधको सूचनालाई बहुमतले अस्वीकृत गरेको थियो । सरकारले गत फागुन २१ गते ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्तसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८०’ संघीय संसद्मा दर्ता गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७