तीन महिनादेखि मनि टान्सफरको निगरानी, हतियारसहित आएर गोली प्रहार गर्दै लुटपाट

गोली हानिएका साहको आँखामा समस्या, काठमाडौं तिलगंगा ‘रिफर’


३ चैत्र २०८०, शनिबार
money transfer

रौतहट । मनी ट्रान्सफर सञ्चालक नितेश साहमाथि गोली प्रहार गर्ने तीन जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । भारतको बिहार पूर्वी चम्पारण जिल्ला मोतिहारी थाना चिरैया दिपही गाउँ–२ बस्ने १९ वर्षीय मुनिफकुमार यादव, सोही ठाउँका १८ वर्षीय राजकुमार पासवान र २० वर्षीय चन्द्रभानसिंह भनिने चुनुकुमार सिंह रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

उनीहरूले शुक्रबार दिउँसो परोहा नगरपालिका–९ स्थित वीरेन्द्र साहका २६ वर्षीय छोरा नितेश साहमाथि गोली प्रहार गरेका थिए । शिवमनी ट्रान्सफर कार्यालयमा कारोबार गरिरहेको अवस्थामा बिआर ० ६सिएल ९७९६ नम्बरको भारतीय मोटरसाइकलमा आएका उनीहरूले साहमाथि गोली प्रहार गरेका थिए । उनीहरुले तीन महिनादेखि उक्त मनी ट्रान्सफर वरपरको क्षेत्रको निगरानी गरेको पाइएको प्रहरीको भनाइ छ । उनीहरुले शुक्रबार मनी ट्रान्सफर सञ्चालक २६ वर्षका नितेश साहलाई गोली हानेर १ लाख २५ हजार रुपैयाँ लुटेका थिए ।

गोली प्रहार गरी भाग्दै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । उनीहरूको साथबाट एक थान कटुवा पेस्तोल, त्यसमा प्रयोग हुने आठ एमएमको गोली एक थान, सात दशमलव ६२ एमएमको अर्धस्वचालित पेस्तोल एक थान, त्यसैको म्याग्जिन एक थान र पाँच राउण्ड गोली बरामद भएको छ ।

उनीहरुमाथि ज्यान मार्ने उद्योग, हातहतियार खरखजाना र चोरी तथा डाँकासम्बन्धी कसुरअन्तर्गतको मुद्दा दर्ता गरी थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक एलिजा गिरीले जानकारी दिइन् । गोली लागी घाइते भएका साहलाई प्रादेशिक अस्पताल गौरमा प्राथमिक उपचार गरी थप उपचारका लागि वीरगञ्ज पठाइएको थियो । उनको आँखामा समस्या देखिएपछि आज तिलगङ्गा आँखा अस्पताल काठमाडौँमा ‘रेफर’ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७