रञ्जितालाई प्रधानमन्त्री प्रचण्डको प्रस्ताव : सरकारमा आउनुस्, सहकार्य गरौं


१० चैत्र २०८०, शनिबार
Ranjita

कञ्चनपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नागरिक उन्मुक्ति पार्टी (नाउपा) लाई सरकारमा सहभागी हुन प्रस्ताव गरेका छन् । विश्वासको मत दिएको नाउपालाई सरकारमा सामेल हुन प्रधानमन्त्री दाहालले आग्रह गरेका हुन् । आज (शनिबार) नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठसहित नेताहरूसँग बालुवाटारमा छलफल गर्दै प्रधानमन्त्री प्रचण्डले नाउपालाई सरकारमा सामेल भएर संघदेखि प्रदेश सरकारसम्मै सहकार्य गरेर जान आग्रह गरेका हुन् । एक मन्त्रालय दिएर नाउपालाई सरकारमा सामेल गराउन प्रधानमन्त्री प्रचण्ड तयार छन् ।

‘नयाँ गठबन्धनप्रति तपाईहरूको धारणा के हो ? विगतमा सहकार्य गरेका हौं । सरकारमा सामेल हुनुहोस्’, प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै छलफलमा सहभागी एक नेताले सुनाए । नागरिक उन्मुक्ति पार्टीभित्र संरक्षक रेशमलाल चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठबीच नयाँ राजनीतिक समीकरणका विषयमा चर्को विवाद छ । प्रचण्डलाई विश्वासको मत दिने रञ्जिताको निर्णयमा रेशम असन्तुष्ट छन् । त्यस्तै पार्टी केन्द्रको निर्देशन अवज्ञा गरी रेशमले प्रदेशमा कांग्रेस नेतृत्वको सरकार विस्तारमा नाउपाका सांसद सहभागी गराएका छन् ।

सत्ता गठबन्धन फेरबदलसँगै निर्वाचन आयोगले नाउपाको अध्यक्षमा रेशमलाई अयोग्य ठहर गर्दै रञ्जितालाई पुनःस्थापित गरेपछि रेशम कांग्रेससँग सहकार्य गरेर जाने पक्षमा उभिएका छन् । नाउपाले सुदूरपश्चिमको मुख्यमन्त्रीमा पनि दाबी गरिरहेको छ । एमाले नेतृत्वको सत्ता गठबन्धनलाई सुदूरपश्चिममा नाउपा बिना सरकार बनाउन कठिन छ ।

सरकारमा सामेल गराउन गठबन्धनका दलहरू सकारात्मक रहेको बताउँदै प्रधानमन्त्री दाहालले फेरि यो विषयमा गठबन्धनभित्र छलफल गरेर बताउने आश्वासन दिएका थिए । संघमा प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएको नाउपाले सुदूरपश्चिममा कांग्रेस नेतृत्वको प्रदेश सरकारलाई नै समर्थन यथावत् राखेको छ । अल्पमतको प्रदेश सरकारमा नाउपाका ७ सांसदमध्ये ५ जना अहिले मन्त्री छन् । केही दिनअघि रञ्जिताको निर्देशनविपरीत नाउपा सुदूरपश्चिम संसदीय दलले प्रदेश सरकारलाई दिएको समर्थन यथावत् राख्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७