ठमेलमा विदेशी पर्यटकले पनि मनाए होली


११ चैत्र २०८०, आईतवार
Holi ktm 1 1 scaled

काठमाडौँ । सङ्घीय राजधानी काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्य ठमेललगायत विश्वसम्पदा क्षेत्रमा विदेशी पर्यटकले पनि हर्षोल्लासका साथ होली पर्व मनाएका छन् । वसन्त ऋतुको आगमनसँगै नेपाल घुम्न आएका विदेशी पर्यटकले फागु पूर्णिमाका अवसरमा यहाँ मनाइँदै आएको होली पर्वलाई हर्षोल्लासका साथ मनाएका हुन् । पछिल्लो समय नेपालमा मनाइने होली पर्व विदेशीले समेत मनाउने गराउने गरेका छन् ।

विदेशी पर्यटकले आज बिहानैदेखि एक अर्कासँग रङ साटासाट, नाचगानसँगै रमाइलो गरी होली मनाइरहेका छन् । राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेल, वसन्तपुर, दरबारमार्ग, पाटन, बौद्धलगायत क्षेत्रमा होली मनाइरहेका छन् । ठमेल पर्यटन विकास परिषद्ले होली विशेष कार्यक्रमको आयोजना गरेको छ । काठमाडौँ महानगरपालिका–२६ सञ्चयकोष अगाडि सडकमा साङ्गीतिक मनोरञ्जनात्मक कार्यक्रमसहित होली पर्व मनाइएको परिषद्ले जनाएको छ ।

परिषद्का अध्यक्ष भविश्वर शर्माले यस्ता सांस्कृतिक पर्वमा विदेशी पर्यटकलाई सहभागी गराएर मनाउँदा नेपालको पर्यटन प्रवर्द्धन हुनुका साथै हाम्रा धार्मिक तथा सांस्कृतिक विशेषता विश्व समुदायसम्म पुर्‍याउन मद्दत पुग्ने बताए । ‘हरेक सांस्कृतिक कार्यक्रमलाई पर्यटनसँग जोड्नसके नेपालको पर्यटन क्षेत्रले ठूलो फड्को मार्न सक्छ । हाम्रा सांस्कृतिक कार्यक्रमलाई सरकारले ‘क्यालेण्डर’ बनाएर विश्वभर पर्यटन प्रवर्द्धन गर्नुपर्छ । यति गर्नसकेमा मुलुकमा १२ महिना पर्यटकको सिजन हुनेछ’, उनले भने ।

नेपाल भ्रमणमा आउने पर्यटकमध्ये ८० प्रतिशत ठमेल क्षेत्रमा आउने गरेका परिषद्का उपाध्यक्ष सहदेव धमलाले जानकारी दिए । परिषद्ले अङ्ग्रेजी नयाँ वर्ष, नेपाली नयाँ वर्ष, सगरमाथा दिवस, विश्व पर्यटन दिवस, होलीलगायत पर्व तथा दिवसमा विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गरी विदेशी पर्यटकलाई मनोरञ्जन दिँदै आएको उनले बताए । ठमेल पर्यटन विकास परिषद्अन्तर्गत हाल ठमेलभित्र १० हजारभन्दा बढी व्यवसायी र दुई हजारको हाराहारीमा घरधनी रहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७