जाँगरले भरिएका पाखुराहरु


१२ चैत्र २०८०, सोमबार
badam 1

–मधु शाही
काठमाडौँ । हसिलो मुहार अनि जोसिलो व्यवहार । उमेरले नौ दशक टेकेकी गणेशमाया नेवार्नीको मूल स्वाभाव हो । पाटन निवासी उनलाई देख्नेहरु झुकिन्छन् । किनकी उनँको कर्मप्रतिको सक्रियताले उमेरै छोपिदिन्छ । उनी भन्छिन्, ‘सकुञ्जेल कामै गर्ने हो, मागेर खाने बानी छैन ।’

पाटनढोका नजिकै रहेको चौतारा मुनि उनको दिनचर्या बित्छ । वरिपरि चना, बदाम, मकै र भट्मास खानेकुरा बिछाएर राख्छिन् । बोली तोते छ । सुन्न र बुझ्न कठिन छ । अलि चर्को स्वरले बोले मात्रै सुन्छिन् । उन‘का केही पुराना ग्राहक छन्, जसले इसारामै सबै बुझछन् । बेच्न राखेका सामान हाउभाउमै बिक्री गर्छिन्, गणेशमाया ।

दश वर्षभन्दा बढी भयो उनी त्यही चौतारमा बसेर व्यापारी जीवन बिताएको । जन्माएका सन्तानमध्ये दुई छोरा उनकै आँखा अघि बिते । बाँकी एउटा छोरो छ, घरको बाँच्ने आधार । छोराको एक्लो सङ्घर्ष देख्न गणेशमायाको मनले मान्दैन । छोरालाई सघाउन र आफू आत्मनिर्भर हुन फुटपाथमा व्यापार रोजेको बताउँछिन् उनी । ‘छोराले सबै सामान किनेर ल्याइदिन्छ, अनि यही पिपल चौतारामुनि छोडिदिन्छ’, उनी थप्छिन्, ‘दिनभरि केही नभए पनि हजार रुपैयाँ जति कमाउछु ।’

आँखा कमजोर हुनु बाहेक गणेशमायाको शरिरमा कुनै गम्भीर रोग छैन । दिनभरि बसेर व्यापार गर्नु पर्दा कहिलेकाहीँ कम्मर दुख्छ । उनले त्यसको आफ्नै उपचार अपनाएकी छन् । बाह्रहाते पटुकी कसेर व्यापारमा बस्छिन । काम गरी खान उमेर बाधक हुँदैन भन्ने गणेशमायाको जीवनी धेरैका लागि प्रेरणा बन्ने गरेको छ । गणेशमायाकै छेउमा कागती, अदुवा, अमला, खुर्सानीजस्ता सामाग्री बेच्न बसेकी मनमाया लामाको सक्रियता अझै लोभलाग्दो छ । उमेरले ७० नाघेकी उनी आफै कलङ्की पुगेर होलसेलमा सामान ल्याउँछिन् । उनको सहयोगी कोही छैन । भएका छोराबुहारी आफ्नै जीवनयापनमा व्यस्त छन् ।

मनमाया सर्लाहीबाट दुई दशकअघि काठमाडौँ आएको सम्झिन्छिन् । कुन समय उनलाई यकिन छैन । तर, बाढीले सबै घरबार बगाएपछि बेघरभएर उनी‘ जिउ पाल्न सन्तानसहित काठमाडौँ पसेकी थिइन् । पाटनमा बस्ने उनी एउटा कोठाको पाँच हजार रुपैयाँ भाडा तिर्छिन् । ‘दिनभरि सुतेर बस्नुभन्दा दुई–चार रुपैयाँ कमाइ हुन्छ’, उनी‘ सुनाउँछिन्, ‘हातखुट्टा चलुन्जेल कामै गरेको निको लाग्छ ।’ मनमायालाई खित्काछोडी हास्न निकै मन पर्छ । गणेशमाया र मनमाया त्यही चौतारामा व्यापार खुब जमेको बेला एकअर्काको अनुहार हेरेर मस्त हाँस्छन् । कहिलेकाहीँ सोचे जस्तो हुँदैन । त्यसबेला उसै गरी उदास पनि हुन्छन् । मनमाया र गणेशमायाले जीवन सरल बनाउने सूत्र जानेका छन् । मनमाया सुनाउँछिन्, ‘खुसी हुने भनेको अरुको लोभ नगर्ने, आफू मेहनत गर्ने ।’

लमजुङ घर भएकी धनकुमारी घले ६४ वर्षको पुगिन् । छोराछोरीले राम्रै कमाउँछन् । खान लाउन दुःख छैन । तर, उनी‘ काम नगरी बस्दिनन् । छोराले गाडीको ग्यारेज खोलेका छन् । त्यही ज्यारेजको छेउमा उनी नाङ्लोभरी बादम राखेर बेच्छिन् । हरियो मकैको याममा मकै राख्छिन् । यति मात्रै होइन, उनी‘ एक्लै हिडेर कालीमाटी पुग्छिन् सामान किन्न । औषधिको नाममा अहिलेसम्म सिटामोलबाहेक अरु केही खानु परेको छैन धनमायालाई ।

उनका श्रीमान मानसिक रोगले पीडित छन् । उनको स्याहार समेत गर्न भ्याएकी धनमाया जीवनमा कहिल्यै हरेस नखाने सुनाउँछिन् । बढ्दो महङ्गीले छोराछोरीले जति कमाए पनि अपुग हुने अवस्था छ । बुढाबुढी भएपछि उल्टै स्याहार्नु पर्ने झन्झट उनले सन्तानलाई दिन चाहन्न् । ‘अहिलेका छोराछोरीलाई जीउ पाल्न दुःखै छ’’, धनकुमारी भन्छिन्, ‘हाम्रो पालामा जस्तो सस्तो र सजिलो छैन ।’

धनकुमारीको विचारमा बुढौलीले छोए पनि दिनभरि त्यतिकै बस्नुभन्दा केही न केही सक्ने काम गर्नु स्वास्थ्यको लागि हितकर हुने अनुभव सुनाउँछिन् । बिहानै ४ बजे उन‘को निद्रा खुल्छ । सबै सुतिरहेको बेला उनी उठेर कालीमाटी हाटबजारमा व्यापार गर्ने सामग्री किन्न पुग्छिन् । आफूले कमाएको पैसाले नातिनातिनालाई आवश्यक परेको खानेकुरा, लगाफाटा र कापीकलम समेत किनिदिन्छिन् ।

काठमाडौमा उनलाई कुनै बेला दुई रुपैयाँमा एक पाउ खसीको मासु किनेको याद छ । श्रीमानले उतिबेला जागीर गरेर ६० रुपैयाँ तलब पाउँथे । त्यही रुपैयामा पूरै घरखर्च चल्थ्यो र बचत पनि हुन्थ्यो । अहिले महँगाइले आकाश छोएको छ । घरका सबैले मिलेर कमाउँदा समेत खान हम्मेतम्मे हुने धनमाया सुनाउँछिन् । उनी‘ भन्छिन्, ‘मैले आफ्नो खर्च जुटाए भने पनि छोराछोरीलाई धेरै राहत हुन्छ ।’

बुढानीलकण्ठ घर भएका इन्द्रबहादुर मिजार उमेर बढेसँगै शरिरमा आलस्य छाउन दिन नहुने मान्यता राख्छन् । बुढौलीमा मन फुर्तिलो बनाउन नियमित शारीरिक व्यायम जरुरी छ । उनी बिहानै उठेर अनिवार्य बिहानीको हिंडाइमा जान्छन् । पूजापाठ गरेर व्यवसायमा सक्रिय छन् । उनले बॉसबारी छाला जुत्ताचप्पल कारखानामा १३ वर्ष जागिर गरे । जागिरे जीवनमा हुँदा उनले आफैले जुत्ता सिउने सीप सिकेका थिएनन् ।

उमेर छिप्पिदै गएपछि जागिर खानु उचित लागेन । आफ्नै लागि केही गर्ने सोच बनाए । सार्की समुदायमा पुख्र्यौली पेसा जुत्ता सिलाउने काम उनले सिकेको थिएन । तर, पछि अरुको हेरेर जुत्ता सिलाउने काम सिके । अहिले आफ्नै पसल सञ्चालन गरेर बसेका छन् । ‘सीप महत्वपूर्ण हुने रहेछ’, उनी भन्छन्, ‘बुढौलीमा काम आएको छ ।’

इन्द्रबहादुर अलि पुराना पुस्ताका हुन् । उनले सिलाउने जुत्ता, चप्पलको डिजाइन पुरानै शैलीका छन् । समयको मागअनुसार आधुनिक शैलीका जुत्ता सिलाउनु पर्छ । ग्राहकको माग अनुसारको सामग्री दिन नसक्दा उनी‘ अलि चिन्तित छन् । उनलाई परम्परागतभन्दा आधुनिक सीप सिकाइमा तालिम लिन पाए आम्दानी राम्रो बनाउन सकिने बताउँछन् । ‘आधुनिक सीप सिक्ने मन छ, वडाले तालिम दिन्छ रे सुनेको छु, मैले अहिलेसम्म लिन पाएको छैन’, उनी भन्छन्, ‘उमेर ढल्किदै गए पनि सिक्ने रहर उस्तै छ ।’

भक्तपुरका नारायणकाजी काशिछ्वा निजामती कर्मचारीबाट स्वेच्छाले निवृत्त भए । दुई दशक जिल्ला शिक्षा अधिकारीको रुपमा अनुभव बटुलेका छन् । जागिर छोडेर घरमै बस्ने मनसाय उनको थिएन । ६१ वर्षको उमेरसम्म नारायणकाजीले जागिरे जीवनमा भन्दा बढी कार्य अनुभव संगाल्ने अवसर पाएका थिए । विभिन्न स्कुलमा पुगेर शैक्षिक सामग्री उपलब्ध गराउनेदेखि, आवश्यक शिक्षक तालिम दिने, विद्यालयप्रति विद्यार्थीको मनोबल बढाउने, मनोपरामर्श दिने जस्ता कार्य गर्दै आएका छन् ।

यतिबेला उनको अधिकांश समय विद्यालयको अनुगमनमा बित्छ । ‘अबको शिक्षा शैलीमा व्यवहारिकता जरुरी छ’, उनी‘ भन्छन्, ‘विद्यार्थी, शिक्षक र विद्यालयको समग्र गुणस्तर सुर्धाने तालिम दिदै आएको छु ।’ नारायणकाजीले जागिर छोड्दा धेरैले सोच्थे, अब घरमै सुतीसुती खाने होला भनेर । नारायण यो सोचको ठीक विपरीत मत राख्छन् । शरिरले साथ दिंदासम्म कर्म गर्नुपर्छ । उनँका छोरा, बुहारी अस्ट्रेलियामा बस्ने गर्दछन् । ९० वर्षकी आमा र पत्नीको स्याहार गर्ने जिम्मेवारी पनि नारायणकाजीमै छ ।

नारायाणलाई उनकी आमाले नै सिकाएको पाठ छ, शरीरले भ्याउदासम्म कर्म गर्न नछोड्नु भन्ने । त्यसैलाई आत्मसात् गरेका नारायण आफू स्वस्थ रहनुको मूल कारण पनि कर्ममा सक्रिय हुनु हो । ‘बुढौली उमेर बेकार हुँदैन’, उनी सुनाउँछन्, ‘त्यतिबेला परिवारको व्यवस्थापन पनि भइसकेको हुन्छ, आफ्नो खुसीले जिउने समय भनेकै यही उमेर हो ।’ नारायणकाजी आफ्नो पाक्दै गरेको उमेर भरपुर उत्साहका साथ बिताउन सिपालु छन् । हरेक दिन सिक्ने र सिकाउने काममा सक्रिय छन् । सक्रियता र व्यस्तताले उमेरको बारे सोच्ने फुुर्सद नै छैन उनँलाई । अधिकांश ज्येष्ठ नागरिक फुर्सदमा तास खेलेर, नसा खाएर, दुःखी भएर नकारात्मक जीवन शैलीमा फसेका मात्र हुँदैनन्, अनेक रोगव्याधीबाट पनि ग्रस्त हुने गर्दछन् । त्यस्तो कार्यबाट आफूले आफूलाई बचाउन सकारात्मक सोच र सही बानी बसाल्न जरुरी रहेको उनी‘ बताउँछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७