बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने


१६ चैत्र २०८०, शुक्रबार
shalikram jamarkattel

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने भएका छन् । विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव प्रदेश सभामा दर्ता गरिएको छ । नेकपा (माओवादी केन्द्र) का मुख्य सचेतक रत्न ढकालले शुक्रबार विश्वासको मतसम्बन्धी प्रस्ताव दर्ता गरेको प्रदेश सभा सचिवालयले जनाएको छ । प्रस्तावमा चैत १९ गते विश्वासको मत लिने व्यवस्था गर्न आग्रह गरिएको छ ।

नयाँ गठबन्धन बनेसँगै नेपाली कांग्रेसले गत फागुन २३ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। त्यससँगै सरकारमा सहभागी कांग्रेसका मन्त्री पनि फिर्ता भएका थिए । कांग्रेसले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिन लागेका हुन् । सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

११० सदस्यीय बागमती प्रदेश सभामा बहुमतका लागि ५६ सांसदको समर्थन आवश्यक पर्छ । सत्तारूढ गठबन्धनमा रहेका नेकपा (एमाले) का २७, माओवादीका २१ र नेकपा (एकीकृत समाजवादी)का सात सांसद छन् । त्यस्तै, विपक्षमा रहेका नेपाली कांग्रेसका ३७, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का १३ र नेपाल मजदूर किसान पार्टीका तीन सांसद छन् ।

दुई सांसद रहेको हाम्रो नेपाली पार्टीले पनि बिहीबार गठबन्धनमा सहभागी हुने सहमति गरेको थियो भने शैलेन्द्रमान बज्राचार्य मन्त्री बनेका थिए । यसले हाम्रो नेपाली पार्टीभित्र विवाद सिर्जना भएको छ । तैपनि मुख्यमन्त्री जम्कट्टेलले यही मौकामा विश्वासको मत लिन लागेका हुन् । हाम्रो नेपाली पार्टीका दुई सांसदले मत दिएमा विश्वासको मत पुग्नेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७