लुम्बिनीमा नाउपाले दुई मन्त्रालय नपाए मुख्यमन्त्री महरालाई विश्वासको मत नदिने


२९ चैत्र २०८०, बिहीबार
jokh bahadur

दाङ । नागरिक उन्मुक्ति पार्टीले दुई मन्त्रालय आफूहरुलाई नदिए मुख्यमन्त्री जोखबहादुर महरालाई विश्वासको मत नदिने भएको छ । महराले शुक्रबार दिउँसो १ बजे लुम्बिनी प्रदेश सभामा विश्वासको मत लिँदैछन् ।

नाउपाका चार सांसद छन् । ‘हामीलाई दुई मन्त्रालय दिने एमाले–माओवादी गठबन्धनले पहिला लिखित सहमति गर्नुपर्छ,’ नाउपा संसदीय दलका प्रमुख सचेतक राजकुमार चौधरीले भने, ‘भौतिक पूर्वाधार मन्त्रालय र अर्को जुन भए पनि राम्रो मन्त्रालय चाहिन्छ । मन्त्रालय दिने सहमति नगरे हामी विश्वासको मत दिँदैनौं ।’ यसअघि कांग्रेसका डिल्लीबहादुर चौधरीको नेतृत्वको सरकारमा नाउपा संसदीय दलका नेता धर्मबहादुर चौधरी भौतिक मन्त्री थिए ।

बिहीबार बेलुका बस्ने दलको बैठकले विश्वासको मत दिने र नदिनेबारे निर्णय गरिने उनले बताएका छन् । उनले सरकार बनाउन सहयोग गरे पनि गठबन्धनले नाउपालाई खासै महत्व नदिएको उनले गुनासो गरेका छन् । मुख्यमन्त्री महरालाई एमाले २९, माओवादी १०, नाउपा ४, जसपा ३, नेकपा एस १ र स्वतन्त्र सांसद खड्क बस्नेत गरी ४८ सांसदले समर्थन गरेका छन् ।

प्रदेशसभामा रहेका ८७ सांसदमध्ये एक निलम्बनमा परेपछि ८६ सांसदमा बहुमतको लागि ४४ सांसद पुर्‍याउन प्रदेश सभामा ३ सांसद रहेको जसपालाई सहरी विकास तथा पर्यटन मन्त्रालय र कृषि भूमि व्यवस्था मन्त्रालय दिने लुम्बिनीका दलहरुबीच ७ बुँदे लिखित सहमति भएको थियो । जसपा संसदीय दलका नेता भण्डारीलाल अहिर विना विभागीय मन्त्री बनेका छन् ।
यस्तै स्वतन्त्र सांसद खड्क बस्नेत र नेकपा एसकी सांसद भगवती अधिकारीलाई सरकारमा समावेश गर्ने सहमित गरेका छन् । नाउपाले अन्तिममा महरालाई समर्थन गरेको थियो । त्यस अघि नै जसपा, स्वतन्त्र र एसलाई मन्त्रायलय दिनेमा सहमति भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७