विद्यमान संरचनाले नधानेपछि उपत्यकामा अब डबल सर्किटको प्रशारण लाइन, यस्तो छ कुलमानको योजना


२७ भाद्र २०७५, बुधबार
kulman ghising

काठमाडौं, २७ भदौ । काठमाडौं उपत्यकामा विद्युत् आपूर्ति प्रणाली सुधार गर्न दीर्घकालीन लक्ष्यसहित नेपाल विद्युत् प्राधिकरणले उच्च क्षमताको प्रशारण प्रणाली बनाउने भएको छ ।

kulman ghising

त्यस्तो प्रशारण प्रणालीलाई काठमाडौँ उपत्यकका प्रशारण ‘रिङ’ नाम दिइएको छ । आगामी दिनमा हुने विद्युत् मागको व्यवस्थापनका लागि उपत्यकाका काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लालाई समेट्ने गरी २२० केभी डबल सर्किट प्रशारण लाइनको रिङ निर्माण गर्न लागिएको हो ।

हाल उपत्यकामा १३२-६६ र ६६-११ केभी प्रशारण लाइनमार्फत विद्युत् आपूर्ति भईरहेको छ । काठमाडौँ उपत्यका विकास प्राधिकरणले निर्माण गर्ने बाहिरी चक्रपथसँगै प्रशारण लाइन पनि निर्माण गरिने प्राधिकरणले जनाएको छ । बाहिरी चक्रपथसँगै बन्ने प्रशारण लाइनको लम्बाइ ७५ किलोमिटर र आयोजनाको अनुमानित लागत १५ करोड अमेरिकी डलर छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले एक-दुई वर्षभित्रमै उपत्यकामा विद्युत आपूर्ति गर्न अहिलेको संरचनाले धान्न गाह्राे हुने भएकाले उच्च क्षमताको प्रशारण लाइन र सबस्टेसन निर्माण काम अगाडि बढाइएको जानकारी दिए । सो लाइनसँगै उपत्यकाका तीन जिल्लामा २२०÷१३२ र १३२-११ केभी क्षमताका एक÷एक वटा सबस्टेसन समेत निर्माण गर्ने तयारी छ ।

‘बढ्दो शहरीकरणले उपत्यकामा जग्गा अधिग्रहण गर्न ज्यादै जटिल रहेकाले बाहिरी चक्रपथसँगै प्रशारण लाइन निर्माण गर्ने योजना अगाडि सारिएको हो’, कार्यकारी निर्देशक घिसिङले भने । प्राधिकरण अन्तर्गतको आयोजना व्यवस्थापन निर्देशनालयले आयोजनाको अध्ययन शुरु गरेको छ । लगानीका लागि एशियाली विकास बैंकलाई अनुरोध गर्ने योजना प्राधिकरणले बनाएको छ ।

चरम समस्याका रुपमा रहेको विद्युत् कटौती अन्त्य भएपछि काठमाडौँ उपत्यकामा विद्युतको माग बढ्दै गएको छ । प्राधिकरणको विद्यमान संरचनाले माग र आपूर्तिको सन्तुलनलाई धान्न सक्दैन । अहिलेको प्रशारण तथा वितरण लाइन क्षमता कम तथा जीर्ण रहेकाले विद्युत् ट्रिपिङ हुने, ट्रान्सफर्मर जल्नेलगायतका समस्या व्यहोरिरहेको छ ।

दोलखामा निर्माणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोशीसहित त्यस क्षेत्रमा निजी क्षेत्रले निर्माण गरिरहेका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ उपत्यकामा भित्र्याउन प्राधिकरणले अहिले खिम्ती–बाह्रबिसे ४००-२२० केभी प्रशारण लाइन निर्माण गरिरहेको छ ।

यसका लागि काठमाडौँको लप्सीफेदीमा २२०÷१३२ केभी र भक्तपुरको चाँगुनारायणमा १३२-११ केभीको सबस्टेसन निर्माण गर्न लागिएको प्राधिकरणले जानकारी दिएको छ । काठमाडौँ उपत्यकाको विद्युत् आपूर्तिमा सुधार गर्न महत्वपूर्ण मानिएको थानकोट–चापागाउ–भक्तपुर १३२ केभी प्रसारण लाइन आयोजना करीब २० वर्षदेखि अलपत्र छ ।

ललितपुरका चापागाउँवासीसँग मुआब्जा र क्षतिपूर्तिमा सहमति जुट्न नसक्दा प्रशारण लाइनको निर्माण अवरुद्ध भएको हो । थानकोट–चापागाउँ–भक्तपुर प्रशारण लाइनको काठमाडौँ र भक्तपुरतर्फको निर्माण सकिएको छ । तर मुआब्जामा चापागाउँवासीसँग सहमति जुट्न नसक्दा ललितपुरमा पर्ने करीब १५ किलोमिटर प्रशारण लाइन निर्माण हुन सकेको छैन ।

आयोजनाको काम आर्थिक वर्ष २०५५-५६ मा शुरु भएको थियो । यसले गर्दा पनि उपत्यकाको विद्युत् आपूर्तिमा समस्या छ । आयोजना र स्थानीयवासीबीच १३२ केभीको प्रशारण तारमुनि पर्ने नौ मिटर दायाँ र नौ मिटर बायाँको अधिकार क्षेत्र (राइट अफ वे) मा पर्ने जग्गाको मुआब्जामा सहमति हुन सकेको छैन ।

स्थानीय बासिन्दाले प्रशारण लाइनको बाटो नै परिवर्तन गर्नुपर्ने माग गर्दै आएका छन् । प्राधिकरणले सञ्चालनमा रहेका र आगामी दिनमा खुल्ने औद्योगिक क्षेत्र तथा करिडोरका लागि नियमित विद्युत् आपूर्तिका लागि उच्च क्षमताका प्रसारण लाइन बनाउने योजना बनाई सोहीअनुसार काम गरिरहेको छ ।

नयाँ प्रशारण प्रणालीको निर्माणपछि काठमाडौँ उपत्यकाका नागरिकले मागेभन्दा बढी विद्युत् उपलब्ध गराउन सकिने प्राधिकरणको भनाइ छ । आगामी वर्षदेखि नै बढी विद्युत् खपत गर्न उपभोक्तालाई आग्रह गर्नुपर्ने अवस्था छ । सोही स्थितिलाई ध्यानमा राखेर प्रशारण प्रणालीमा सुधार गर्न लागिएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७