भारतका ५ राज्यमा विधानसभा चुनाव : कांग्रेस अगाडि, मोदीको बीजेपीलाई झट्का


२५ मंसिर २०७५, मंगलवार
modi

काठमाडौं, २५ मंसिर । भारतको पाँच राज्यमा भएको विधानसभाको चुनावको मतगणना थालिएको छ । मध्य प्रदेश, राजस्थान, छत्तीसगढ, मिजोरम र तेलंगना सबै राज्यको प्रारम्भिक नतिजा आउन थालेको छ ।

modi

पाँचै राज्यको प्रारम्भिक मतपरिणाम अनुसार भारतीय कांग्रेसका लागि सुखद रहेको छ । मध्य प्रदेश विधानसभामा २३० सिट रहेको छ । जहाँ सरकार बनाउन ११६ सिट आवश्यक पर्छ ।

प्रारम्भिक मतपरिणाम अनुसार मध्य प्रदेशमा कांग्रेसले १०६ सिटमा अग्रता बनाइरहेको छ । मध्य प्रदेशको १०८ सिटमा भारतीय जनता पार्टी (बीजेपी) ले अग्रता बनाइरहेको छ । अन्य दल ८ सिटमा अग्रता लिइरहेका छन् ।

राजस्थान विधानसभामा २०० सिट भए पनि एक जना उम्मेद्वारको निधन भएका कारण १९९ सिटमा चुनाव भएको थियो । राजस्थानमा सरकार बनाउन १०० सिट चाहिन्छ । राजस्थानको प्रारम्भिक मतपरिणामअनुसार कांग्रेस ८८ सिटमा अगाडि छ भने बीजेपी ७४ सिटमा अगाडि छ ।

त्यस्तै ११९ विधानसभा सदस्य रहेको तेलंगनामा क्षेत्रीय दल तेलंगना राष्ट्रिय समिति ६० सिटमा अगाडि रहेको छ । जहाँ सरकार बनाउन ६० सिट नै चाहिन्छ । त्यस्तै तेलंगनामा कांग्रेस ३३ सिटमा अगाडि रहेको छ भने बीजेपी २ सिटमा अगाडि रहेको छ ।

मिजोरम ४० सदस्य रहेको मिजोरममा क्षेत्रीय दल मिजो नेसनल फ्रन्ट(एमएनएफ) ले १७ सिटमा अग्रता बनाएको छ भने कांग्रेसले १४ सिटमा अग्रता बनाउँदा बीजेपीले २ सिटमा अग्रता बनाएको छ ।

त्यस्तै छत्तीसगढ ९० विधानसभा सदस्य संख्या रहेको छ । छत्तीसगढको प्रारम्भिक मतपरिणाम अनुसार कांग्रेसले बहुमतको सरकार बनाउने सम्भावना देखिएको छ । प्रारम्भिक मतपरिणामअनुसार ५४ सिटमा कांग्रेसले अग्रता बनाएको छ । बीजेपीले ३० सिटमा अग्रता बनाएको छ ।

पछिल्लो समय राहुल गान्धी कांग्रेस अध्यक्ष भएपछि पार्टीले लगातार नराम्रो नतिजा भोगिरहेको अवस्थामा पाँच राज्यको विधानसभा चुनाव भने राहुल गान्धीको नेतृत्वको असली परीक्षा हुने देखिएको छ । यिनै ५ राज्यको विधानसभा चुनावको मतपरिणामअनुसार सन् २०१९ को लोकसभा चुनावमा बीजेपी र कांग्रेसको कडा प्रतिष्पर्धा हुने देखिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७