काठमाडौंका ११ विपन्न परिवारलाई किराना पसल, नेकपा वरिष्ठ नेता नेपालद्वारा चाबी हस्तान्तरण


१ पुष २०७५, आईतवार
madhav nepal

काठमाडौं, १ पुस । रामेछापकी गीता खड्का बस्याल काठमाडाँैको शान्तिगनरस्थित सुकुम्वासी बस्तीमा बसेको लामो समय भयो ।

madhav nepal
कतार च्यारिटीको आर्थिक सहयोगमा ग्रामीण विकास केन्द्रले गरीब परिवारलाई किराना पसलका लागि आइतबार काठमाडौँमा चावी हस्तान्तरण कार्यक्रममा मन्तव्य राख्दै पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल । तस्वीर : रासस

मृगौला रोगी बस्याललाई परिवारको गर्जाे टार्न धौधौ थियो । आफ्नो उपचारमा मासिक ८–१० हजार लाग्ने खर्चको जोहो गर्न पनि उनलाई सकस थियो । दुःखजिलो गरेर जीवन गुजार्दै आएकी उनी आज एउटा किराना पसलको चाबी प्राप्त गर्दा औधी खुशी भइन् ।

शहरी गरीबहरू खोज्ने क्रममा ग्रामीण विकास केन्द्र नेपालले आयआर्जनका लागि व्यावसायिक विकास परियोजनाअन्तर्गत उनका लागि किराना पसल नै सहयोग गरेको थियो । चाबी लिँदै उनले सहयोग पाएकोमा खुशी व्यक्त गरिन् ।

पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालसामु बस्यालले भनिन्, ‘आफ्नो मासिक औषधि खाने र घर व्यवहार चलाउन किराना पसलले मलाई ठूलो सहयोग गर्नेछ ।’

उनीसँगै चाबी पाउनेमा विशाल मियाँ पनि छन् । गरीबलाई किराना पसल सहयोग गरेकामा अब भने बालबालिका पढाउनका लागि दुःख नहुने मियाँले प्रतिक्रिया दिए ।

उनीहरूसहित काठमाडाँैका विभिन्न ११ गरीब परिवारले आज किराना पसल नै प्राप्त गरेका छन् । सडकका विभिन्न क्षेत्रबाट खोजेर ११ परिवारलाई किराना पसल सहयोग गरिएको हो ।

ती परिवारलाई कतार च्यारिटीको आर्थिक सहयोगमा आयआर्जनका लागि व्यावसायिक विकास परियोजनामार्फत ग्रामीण विकास केन्द्रले किराना पसल सहयोग गरेको हो । पसलको केही महिनाको भाडा समेत संस्थाले नै उपलब्ध गराउने जनाइएको छ । समग्रमा रु २१ लाखको परियोजनामा ११ पसल सहयोग गरिएको संस्थाले जनाएको छ ।

कतार च्यारिटीका परियोजना व्यवस्थापक इसाद अली शेखले गरीब परिवार छनोट गरेर किराना पसल सहयोग गरिएको जानकारी दिए । उनका अनुसार संस्थाले यसअघि सर्लाही र रौतहटमा २६४ परिवारलाई बाख्रापालनमा सहयोग गरेको छ ।

यस्तै रुपन्देही र कपिलवस्तुमा मौरी र कुखुरापालनमा सहयोग गरेको तथा विभिन्न जिल्लाका ९५ गरीब परिवारका विद्यार्थीलाई छात्रवृत्ति दिइँदै आएको जनाइएको छ ।

पसलको चाबी हस्तान्तरणका क्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री नेपालले समस्यामा परेका गरीब तथा असहायका लागि किराना पसल सहयोग गर्नु महत्वपूर्ण कुरा भएको उल्लेख गर्दै यही नै वास्तविक धर्म भएको बताए ।

‘इज्जत भनेको मेहेनत र पौरखको भरोसा हो, पसल प्राप्त गरेर मेहेनत गर्न कस्सिनु भएका उहाँहरूको भावनाले त्यही बोलिरहेको छ’, नेता नेपालले भने । सरकारले समृद्धिको यात्रा तय गरेको उल्लेख गर्दै उनले देशमा अझै शिक्षाको चेतना कम भएकाले सरकारले भर्ना अभियानलाई तीव्रता दिएको बताए ।

कार्यक्रममा सांसद अतहर कमाल मुसलमानले आज दिइएको सहयोगले ११ परिवारको आयआर्जनमा महत्वपूर्ण सहयोग हुने विश्वास रहेको बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७