नाम जस्तै काम भइरहेको छ भद्रगोल टिमको ‘फनफनी’ ?


६ असार २०७६, शुक्रबार
Bhadragol

काठमाडौं, ६ असार । टेलिभिजनमा हिट मानिएको हाँस्य सिरियल ‘भद्रगोल’ को टिमले चलचित्र निर्माण गर्ने चर्चा चलेको लामै समय भइसकेको छ ।

चलचित्रलाई शुरुवातमा निर्देशक निश्चल बस्नेतले निर्देशन गर्ने पक्का भएको थियो । तर, निश्चलले अन्तिम समयमा आएर चलचित्र छाडे । उनले समय नभ्याएको भन्दै चलचित्र छाडेका थिए । चलचित्रका लेखक समेत रहेका दिपक आचार्य भन्छन्, ‘निश्चलजीले करिब १ बर्ष अड्काइदिनुभयो । कहिले साउनदेखि शुरु गर्ने त कहिले भदौदेखि शुरु गर्ने भनेर उहाँले गर्नुभएन ।’

‘भद्रगोल’ को श्रृङ्खला निर्देशक दिपक आचार्यले अगाडि भने ‘यसपछि हाम्रो चलचित्रको प्लटहरु रातो टीका निधारमासँग मिल्यो भन्ने भयो । हामी, फेरि कथा परिवर्तन गर्न तर्फ लाग्यौ ।’ चलचित्रका लागि अहिले निर्देशक प्रदिप भट्टराइसँग कुरा भइरहेको छ । प्रदिपसँग केही कुराहरु मिलेको खण्डमा उनले यो चलचित्र निर्देशन गर्नेछन् ।

चलचित्रका लागि शुरुवातमै नायक विपिन कार्कीलाई फाइनल गरिएको थियो । महंगो रकम लिएर विपिनले चलचित्र साइन गरेका थिए । दिपकका अनुसार, विपिनले चलचित्र छाडेका छैनन् । वीचमा विपिनको नयाँ चलचित्रको छायांकन र ‘फनफनी’ को छायांकन एउटै सेड्यूलमा हुने भएकाले विपिनले नगर्ने चर्चा चलेको थियो । तर, नायक कार्कीले पनि चलचित्र नछाडेको बताए । उनी यो चलचित्र गर्ने मनस्थितिमा छन् । अझ, निर्देशकमा प्रदिप भट्टराई भएको खण्डमा उनका लागि खुशीको कुरा हुनेछ ।

दिपकका अनुसार, चलचित्रको छायांकन भदौबाट शुरु गर्ने योजना छ । यसका लागि अहिले तीव्र तयारी भइरहेको उनले सुनाए । चलचित्रका लागि नायक विपिन कार्की र ‘भद्रगोल’ का कलाकार अर्जुन घिमिरे मात्र फाइनल भएका छन् । अन्य कलाकार भने फाइनल नभएको प्रदिपले जानकारी दिएका छन् ।

चलचित्रलाई चैत्र २८ गते रिलिज गर्ने तयारी गरिरहेको पनि चर्चा चलिरहेको थियो । दिपकका अनुसार, अहिले कुनै पनि मिति फाइनल गरिएको छैन । कमेडी र सामाजिक कथामा बन्न लागेको यो चलचित्रका लागि केहि नायिकाहरुसँग कुरा भइरहेको बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७