बक्सिंग : तीन नेपाली महिला बक्सर फाइनलमा


२१ मंसिर २०७६, शनिबार
baksing

काठमाडौं, २१ मंसिर । १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बक्सिंगतर्फ दोस्रो दिनको खेलपछि तीन नेपाली महिला बक्सर फाइनलमा प्रवेश गरेका छन् ।

यो सँगै कुल चार नेपाली महिला बक्सरले स्वर्णका लागि भिडन्त तय गरेका छन् । ललितपुरको सातदोबाटोमा शनिवार भएको खेलमा नेपाली महिला खेलाडीहरु ललिता महर्जन, मिनु गुरुङ र संगिता सुनार फाइनलमा प्रवेश गरेका हुन् भने ६४ केजीका पूनम रावल यअिघि नै बाइ पाएर फाइनल पुगिसकेका छन् ।

महिला ४८ केजी तौल समूहको खेलमा ललिताले श्रीलंकाकी नादिका पुष्प रनासिंघे अराचचिघेलाई अंकको आधारमा हराउदै फाइनलमा स्थान सुरक्षित गरिन् । त्यस्तै महिला ५४ केजी तौल समूहको खेलमा मिनुले पनि बंगलादेशकी ओनिता ईस्लामलाई अंककै आधारमा पराजित गरिन् ।

यसैगरी ६० केजी तौल समूहको खेलमा संगीताले पनि श्रीलंकाकी केशानी हंसिका कस्तुरी अर्चचिघेलाई अंककै आधारमा हराउँदै भारतकी परबिन संग स्वर्णका लागि भेट पक्का गरिन् । परबिन भने बाई पाएर सोझै फाईनल प्रवेश गरेकी हुन् ।

पुरुष ४९ केजी तौल समूहको खेलमा भने नेपालका सुशील थापामगर भारतका बिनोद तनवरसंग अंकको आधारमा पराजित भयो । हारसंगै सुशील काश्य पदकमा सिमित बने । यसैगरी ५६ केजी तौल समूहमा पनि नेपालका पूरन राई पराजित हुदै काश्यमा सिमित बन्यो ।

यसअघि बाई पाएर सोझै सेमिफाइनल पुगेका उनी बंगलादेशका मोहमद रोबिन मियासंग स्पिलिट डिसिजनको आधारमा पराजित भए । यस्तै ६४ केजी तौलको सेमिफाइनलमा नेपालका भूपेन्द थापामगरले बंगलादेशका मोहमद अलामिनलाई अंकको आधारमा हराउंदै फाइनलमा प्रवेश गरेका छन् । पुरुष ९१ केजीको भिडन्तमा भने नेपालका अर्जुन सिगु भारतका गौरव चौहानसंग पराजित हुदै काश्यमा सिमित भए ।

शनिवारै भएको अन्य खेलमा भारतकी कलाइभानी श्रीनिवासनले भूटानकी ल्हामो टान्डिनलाई हराउंदै फाइनलमा नेपालकी ललितासंग भिडन्त पक्का गरिन् । त्यस्तै महिला ५४ केजीमा भारतकी शिक्षाले श्रीलंकाकी सजीवनी मुथुथन्थ्री पटाबेन्डीगेलाई हराइन् ।

त्यस्तै पुरुष ४९ केजीमा भूटानका टासी वाङ्दीले बंगलादेशका मोहमद सोजिब होसेनलाई हराउंंदै फाइनलमा भारतका बिनोद तनवरसंग भेट पक्का गरेका छन् । पुरुष ५६ केजीको खेलमा भारतका सचिन फाइनलमा प्रवेश गरेका छन् ।

उनले पाकिस्तानमा नकिबुल्लाहलाई अंकको आधारमा हराए । यसैगरी ६४ केजीमा भारतका मनिष कौशिकले पनि श्रीलंकाका डिनिडु डु पोन्नविला भिदानालागे दनलाई पराजित गर्दै फाइनलमा नेपालका भूपेन्द थापामगरसंग स्वर्णका लागि भिडन्त तय गरे ।

यसैगरी ७५ केजीको फाइनलका लागि भारतका अंकित खताना र श्रीलंकाका दिनेश मदुरंगा पाथिरागे दनले भिडन्त पक्का गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७