किम जोङ विवेकशील र लक्ष्यमा प्रतिबद्ध व्यक्ति : सिआइए


२१ आश्विन २०७४, शनिबार
kim jong un

काठमाडौं (एजेन्सी) : अमेरिकी गुप्तचर संस्थाका अनुसार उत्तर कोरियाका ३३ वर्षे शासक किम जोङ उन निकै विवेकशील व्यक्ति भएको बताएका छन् ।

kim jong un

सिएनएनका अनुसार अमेरीकी गुप्तचर संस्था सिआइएका उच्च अधिकारीहरुले किम पागल नभइ निकै विवेकशील र लक्ष्यमा प्रतिबद्ध व्यक्ति भएको बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भने  ‘आत्महत्या गर्न हिँडेको’ पठ्ठो र पागल भएकाे धारणा राख्ने गरेका छन् । ट्विट गर्दा होस् या संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दा होस् ट्रम्पले यही विचार व्यक्त गरेका छन्। तर अमेरिकी गुप्तचर विभागका उच्च अधिकारीहरु ट्रम्पको धारणामा सहमत छैनन् ।

‘किम जोङ उनका कदमहरु उत्तेजना बढाउने होइन, आफ्नो शासन व्यवस्था टिकाउने लक्ष्यले उत्प्रेरित हुन्छन् त्यसबाट उनी आफ्नो लक्ष्यप्रति स्पष्ट रहेको थाहा हुन्छ,’ सिआइएका कोरिया मिसन सेन्टरका उपसहायक निर्देशक योङ सुक ली भन्छन्।

गत बुधबार जर्ज वाशिंगटन विश्वविद्यालयमा आयोजित एक सम्मेलनमा उनले यस्तो धारणा राखेका हुन्।  आफ्नो शासन व्यवस्थालाई अमेरिकाले उखेल्न नसकोस् भनेर नै उत्तर कोरियाले आणविक हतियार तथा लामो दूरीका क्षेप्यास्त्र बनाउन खोजेको उनले बताए ।

‘किम जोङ उन कुनै बिहान निद्राबाट ब्युँझिनेबित्तिकै लस एञ्जेलसमा आणविक आक्रमणको निर्णय गर्ने खालको मान्छे होइनन,’ ली भन्छन, ‘उनी लामो समय शासन गरेपछि आफ्नै ओच्छ्यानमा शान्तिपूर्वक मर्न चाहन्छन्।’

गुप्तचर अधिकारी, कूटनीतिज्ञ तथा सांसदहरुले उत्तर कोरियाको उद्देश्यबारे स्पष्ट जानकारी राखे त्यो सम्भावित आणविक युद्धलाई रोक्न महत्वपूर्ण हुने बताइन्छ ।

पछिल्लो समय अमेरिकी पहलमा उत्तर कोरियामाथि लगाइँदै आएको प्रतिबन्धलाई सो देशले अटेर गर्दै आएको छ । अमेरिकी रक्षामन्त्री जेम्स म्याटिस तथा विदेशमन्त्री रेक्स टिलरसनले शान्तिपूर्ण तरिकाले नै कोरिया समस्या समाधान गर्न चाहेको बताए पनि दुई देशबीच संवाद सुरु हुने कुनै लक्षण देखिँदैन ।
यद्यपि अमेरिकाबाट उत्तर कोरियाको विषयमा मिश्रित सन्देशहरु जाने गरेको छ। यसले अमेरिकाको उत्तर कोरियाप्रतिको धारणामा पनि प्रश्न उठ्ने गरेको छ । गुप्तचर अधिकारी तथा मन्त्रीहरुले संवादको कुरा गरिरहँदा ट्रम्प भने किम जोङ उनसँग व्यक्तिगत आक्षेपमै उत्रिने गरेका छन् । यसले युद्धको सम्भावनालाई बढाउने गरेको बताइन्छ।

बुधबार पनि रक्षा अधिकारीहरुसँगको बैठकमा ट्रम्पले उत्तर कोरियालाई रोक्न ‘जे गर्नुपर्ने हो, त्यो गर्न तयार रहेको’ बताए। तर ट्रम्प प्रशासनका उच्च अधिकारीहरु नै राष्ट्रपतिको धारणासँग सहमत छैनन्।

‘कोरियाली प्रायद्वीपमा द्वन्द्व नचाहने अन्तिम व्यक्ति नै किम जोङ उन हुन,’ ली भन्छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प युद्ध नचाहने भए उत्तर कोरिया आणविक हतियार किन विकास गर्न चाहन्छ त?

प्योङयोङ इराक र लिबियाजस्ता देशहरुलाई हेर्ने गर्छ । इराकमा अमेरिकाले सद्दाम हुसेनको तख्तापलट गरिदियो र लिबियामा नेता मुअम्मर गद्दाफीले आणविक शस्त्र जोड्ने इच्छा त्याग गरेपछि अमेरिकाले त्यहाँ आक्रमण ग¥यो। यी सबै कुरा हेरेपछि उत्तर कोरिया आफूसँग पनि अमेरिकी भूमिसम्म मार हान्ने क्षमताको अस्त्र भए मात्रै अमेरिकी हस्तक्षेपलाई रोक्न सकिनेमा विश्वस्त बन्दछ।

युद्ध नचाहँदा नचाहँदै पनि उत्तर कोरिया अमेरिकासँग टकरावपूर्ण सम्बन्ध चाहने सिआइएको ठम्याइ छ। ‘उत्तर कोरिया त्यस्तो राजनीतिक व्यवस्था हो, जो टकरावमा फस्टाउँछ, बलियो हुन्छ,’ ली भन्छन्।

सन् २०११ मा बाबुको मृत्युपछि सत्तामा आएका किमले देशलाई आणविक शक्तिसम्पन्न मात्रै बनाएका छैनन्, देशभित्र आफ्नो शक्ति सुदृढ पनि गरेका छन्। यसका लागि उनले करिब ३४० व्यक्तिलाई मृत्युदण्ड दिएको बताइएको छ, जसमध्ये उनका आफ्नै काका पनि थिए।
किमको छवि क्रुर शासकको भए पनि उनको व्यवहार आवेग र भावनामा नभइ आफ्नो स्वार्थमा निर्भर हुने गरेको ली बताउँछन्।

‘किमको लक्ष्य भनेको अमेरिकासँग कुनै खालको शक्ति सम्झौता गरेर अमेरिकालाई कोरियाली प्रायद्वीपबाट हटाउनु हो। किम उत्तर कोरियालाई विश्व रंगमञ्चमा फेरि स्थापित गर्न चाहन्छन,’ ली भन्छन्। तर यसले कोरियाली प्रायद्वीपमा युद्धको संकट लगातार बढाइरहेको छ।

‘उत्तर कोरिया निश्चय नै अमेरिका र अन्तर्रा्ष्ट्रिय समुदायको धैर्यको परीक्षा लिइरहेको छ,’ सिआइएकै पूर्वी एसिया तथा प्रशान्त केन्द्रका उपसहायक निर्देशक माइकल कोलिन्स भन्छन्, ‘उसको यो कदमलाई अरुले कि त मान्नुपर्ने हुन्छ कि त्यसको विरोधमा कदम चाल्नुपर्ने हुन्छ।’
उत्तर कोरियालाई रोक्न हरेक प्रकारका उपाय असफल बनिरहेको बेला ‘किम जोङ उन कति परसम्म पुग्लान्?’ भन्ने नै प्रमुख प्रश्न रहेको ली बताउँछन्। केहीले किमलाई रोक्न चीन प्रभावकारी हुने विश्वास गर्छन्।

‘चीनको रणनीतिक उद्देश्य भनेको अमेरिकालाई निराश बनाउनु र कोरियाली प्रायद्वीपमा विभाजन कायम राख्नु हो,’ ली भन्छन्, ‘त्यसैले अमेरिकाले बेइजिङ र प्याङयोङलाई सैन्य शक्तिको प्रयोगसहित सबै विकल्प खुल्ला रहेको जानकारी दिइरहनुपर्छ। आखिर चीनले पनि अमेरिकासँगको सम्बन्ध र उत्तर कोरियाको परिस्थितिबीच प्राथमिकता तोक्नै पर्छ।’

कोलिन्स र ली दुवै गुप्तचर अधिकारी उत्तर कोरियाले जानीजानी युद्ध आरम्भ नगर्ने बताउँछन्। यद्यपि दैनिक तनाव बढ्दै जाँदा युद्धको सम्भावना पनि बढ्दै जाने उनीहरु बताउँछन्।

‘दक्षिण र उत्तर कोरियाली नौसेना हरेक दिन आमनेसामने हुन्छन्, त्यसैले हरेक क्षण युद्ध सुरु हुने सम्भावना रहन्छ,’ ली भन्छन्।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७