टोलीलाई उत्कृष्ट नतिजा दिलाएर नेपाली फुटवल समर्थकलाई खुशी बनाउँछु : अल्मुताइरी


१६ कार्तिक २०७८, मंगलवार
Abdullha almutairi

काठमाडौं, १६ कात्तिक । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले आफूले टोलीलाई उत्कृष्ट नतिजा दिलाएर समर्थकलाई खुशी बनाउन चाहेको बताएका छन् ।

अलमुताइरीले टोलीको प्रदर्शनमा मात्र ध्यान दिएको र अरू कुरामा आफूले समय नखर्चेको बताएका छन् । मंगलबार दशरथ रंगशालामा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।

साफ फुटबलको फाइनलमा भारतसँग पराजित भएर उपाधि जित्नबाट वञ्चित भएको स्मरण गर्दै उनले त्यसको बदलामा एसियन कप छनोटको तेस्रो चरणमा उत्कृष्ट प्रदर्शन गरेर समर्थकलाई खुशी बनाउने बताए । ‘म नेपाली समर्थकलाई खुशी बनाउन चाहन्छु । त्यसको लागि टोलीमा रहेर खेलाडीलाई उत्कृष्ट प्रदर्शन गराउनु हो । त्यो बाहेक अरू कुरामा मैले ध्यान दिएको छैन’, अल्मुताइरीले भने ।

कतार फुटबल एशोसिएनसबाट नेपाल आएका मुख्य प्रशिक्षक अल्मुताइरीले थप तीन वर्षका लागि नेपालसँग सम्झौता गरेका छन् । यसअघि, अल्मुताइरीको सम्झौता सन् २०२२ सेप्टेम्बरसम्म थियो । मुख्य प्रशिक्षक अल्मुताइरीका अनुसार १ नोभेम्बरबाट शुरु भएको नयाँ सम्झौता २०२४ को अन्त्यसम्म कायम रहनेछ । उनले अघि भने, ‘हामीले राम्रो फुटबलका लागि राम्रो वातावरण बनाउन छलफल गरेका छौं । धेरै कुरा अर्को महिला लिग शुरु भएपछि प्रष्ट हुनेछ ।’

माल्दिभ्समा भएको साफ च्याम्पियनसिपको फाइनल खेल्नुअघि अम्मुताइरीले नेपाल छाड्ने घोषणा गरेका थिए । तर अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पाले कतार पुगेर भेट्नुका साथै कतार फुटबल एशोसिएसनसँग भएको छलफलपछि मुख्य प्रशिक्षक अम्मुताइरी नयाँ सम्झौताका लागि सहमत भएका हुन् ।

अल्मुताइरीले माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसिपका दौरान आफू कहिल्यै नेपाल नफर्किने घोषणा गरेका थिए । साफ च्याम्पियनसिपको तेस्रो खेलमा भारतसँग पराजित भएपछि प्रशिक्षक अल्मुताइरीको सामाजिक सञ्जालमा चर्काे आलोचना भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७