कांग्रेस निर्वाचन : सभापतिका उम्मेद्वार देउवा, सिंह र कोइरालाले गरे मतदान

कुलबहादुर गुरुङलाई उछिनेर देउवाले खसाले मत


२७ मंसिर २०७८, सोमबार
deuwa shekhar prakash

काठमाडौं, २७ मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सभापति पदमा उम्मेदवार बनेकाहरु शेरबहादुर देउवा, प्रकाशमान सिंह र शेखर कोइरालाले मतदान गरेका छन् । काठमाडौंमा जारी १४औँ महाधिवेशन अन्तर्गत आज भइरहेको निर्वाचनमा देउवाले सुदूरपश्चिम बुथ, सिंहले वागमती प्रदेशको बुथ र कोइरालाले प्रदेश-१ को केन्द्रको बुथबाट मतदान गरेका हुन् । काठमाडौंको भृकुटीमण्डप स्थित राष्ट्रिय सभागृहको मतदान केन्द्रमा पुगेर तीनै जनाले मतदान गरेका हुन् ।

कांग्रेसको १४ औं महाधिवेशनमा वर्तमान सभापति देउवा, सिंह र कोइराला बाहेक विमलेन्द्र निधि र कल्याण गुरुङको उम्मेदवारी परेको छ । आज बिहान ८ बजेबाट मतदान शुरु गर्ने भनिएता पनि ३ घण्टा ढिलो गरी अपरान्ह १२ बजेबाट मात्रै मतदान शुरु भएको थियो ।

कुलबहादुर गुरुङलाई उछिनेर देउवाले खसाले मत
मतदानका लागि कांग्रेसका पाका नेता कुलबहादुर गुरुङ सबैभन्दा अगाडि नाम दर्तास्थलमा पुगेका थिए । उनको नाम दर्ताको तयारी हुँदै थियो । त्यसपछि उनी १४औँ महाधिवेशनमा मत खसाल्ने पहिलो व्यक्ति बन्ने तरखरमा थिए । तर, सोही बेला पार्टी सभापति एवं सभापति पदका उमेदवार देउवा मतदान केन्द्रमा पुगे । प्रधानमन्त्री समेत रहेका देउवा पुगेपछि निर्वाचन समितिका पदाधिकारीसहित त्यहाँ उपस्थित प्रतिनिधिले उनलाई नै पहिलो मत खसाल्न आग्रह गरे । त्यसपछि देउवाले पहिलो मतदान गरेका थिए । देउवापछि पाका नेता गुरुङले मतदान गरे । मतदानपछि देउवा उपस्थिततर्फ फर्किएर हात हल्लाएर अभिवादन गर्दै बाहिरिएका थिए ।

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज बेलुका ५ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ । तीनवटा केन्द्रमार्फत मतदानको व्यवस्था मिलाइएको छ । काठमाडौंको राष्ट्रिय सभागृह र भृकुटीमन्डपमा मतदान केन्द्र तोकिएको छ । महाधिवेशनका लागि एक हजार १०० बुथमार्फत मतदान गर्ने व्यवस्था मिलाइएको छ । मतदानमा २९ प्रकारका मतपत्रको व्यवस्था गरिएको छ । सबै मतपत्रका लागि अलग-अलग मतपेटिकाको व्यवस्था गरिएको निर्वाचन समितिले जनाएको छ ।

जारी महाधिवेशनमा महाधिवेशन प्रतिनिधिको संख्या चार हजार ७४३ कायम छ । सभापति पदका लागि पाँचजना चुनावी मैदानमा छन् । जसमा वर्तमान सभापति शेरबहादुर देउवा, विमलेन्द्र निधि, डा. शेखर कोइराला, प्रकाशमान सिंह र कल्याण गुरुङ रहेका छन् ।

दुई उपसभापति पदमा सातजनाको उमेदवारी परेको छ । जसमा महेश आचार्य, डा. चन्द्र भण्डारी, धनराज गुरुङ, सुजाता कोइराला, पूणर्बहादुर खड्का, विजयकुमार गच्छदार र दिव्यश्वरी शाह छन् । दुई महामन्त्री पदमा ६ जनाबीच प्रतिस्पर्धा हुँदैछ । जसमा गगन थापा, विश्वप्रकाश शर्मा, प्रदीप पौडेल, प्रकाशशरण महत, डा. मीनेन्द्र रिजाल, डा. राजाराम कार्की छन् । क्लस्टरमा रहेका आठ सहमहामन्त्री पदमा १९ जनाले चुनाव लड्दै छन् ।

नयाँ कार्यकालका लागि ३५ खुला केन्द्रीय सदस्यमा ९९ जनाको उमेदवारी परेको छ । नौ खुला महिला केन्द्रीय सदस्यमा ३० जनाले उमेदवारी दिएका छन् । १६७ पदमा ५०० भन्दा बढीको उमेदवारी परेको छ । पार्टीका सबै तहका पदाधिकारी तथा सदस्यको पदावधि चार वर्षको हुनेछ । असाधारण स्थिति भएमा केन्द्रीय कार्यसमितिले बढीमा एक वर्षसम्मको अवधि बढाउन सक्ने विधानले व्यवस्था गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७