महेशपुर भन्सारद्वारा ५ महिनामा १० करोड बढी राजस्व संकलन


२१ पुष २०७८, बुधबार

नवलपरासी । नवलपरासी पश्चिमको मूल नाका महेशपुर भन्सार कार्यालयले ५ महिनामा १० करोड बढी राजस्व सङ्कलन गरेको छ । भन्सार कार्यालयले श्रावण महिनादेखि मंसिर महिनासम्ममा कुल १० करोड, ४२ लाख २८ हजार ५५१ रुपैयाँ राजस्व सङ्कलन गरेको जानकारी दिएको छ । महेशपुर भन्सार छोटीबाट मूल भन्सार भएपछि राजस्व वृद्धि हुँदै गएको हो ।

कार्यालयले उक्त ५ महिनामा पैठारी भन्सार महसुल तर्फ ६ करोड, १५ लाख ३ हजार २५१ रुपैयाँ, कृषि सुधार शुल्क तर्फ १ करोड, २२ लाख, ८१० रुपैयाँ, सेवा दस्तुर तर्फ ६ लाख १३ हजार रुपैयाँ रहेको जानकारी दिएको छ ।

त्यस्तै अन्य प्रशासनिक सेवा शुल्कबाट ३७ हजार, अन्तःशुल्कबाट २३ लाख ८१ हजार, २१५, मूल्य अभिवृद्धि करबाट २ करोड, ६९ लाख, ४९ हजार ७७८ र आयकरबाट ५लाख ४३ हजार ४९७ रुपैयाँ गरि कुल १० करोड, ४२ लाख २८ हजार ५५१ रुपैयाँ सङ्कलन भएको भन्सारले जनाएको छ । कार्यालयले मङ्सिर महिनामा मात्र १ करोड, ४९ लाख ३८ हजार ७०३ रुपैयाँ राजस्व सङ्कलन गरेको छ । यो कुल राजस्व अरू मूल भन्सारमा एक महिनामा उठ्ने राजस्वको बराबर पनि छैन ।

यस नाकाबाट, खाद्यान्न, कपडा लत्ता, भाँडाकुँडा, भुस, कोइला, किराना तथा कस्मेटिकका सरसामानहरूको पैठारी हुने गर्दछ । करिब २ कट्ठामा रहेको उक्त भन्सारलाई गोदाम, कर्मचारी भवन, भन्सार जाँचकी कक्ष, मालवाहक गाडी पार्किङ स्थल, काउन्टर, क्वारेन्टिनहरु लगायतका पूर्वाधारहरुको आवश्यकता रहेको जनाएको छ । राज्यले भन्सारको आवश्यक भौतिक पूर्वाधार र आवश्यक व्यवस्थापन नगर्दा भन्सारले गति लिन सकेको छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७