सर्वोच्चको न्यायाधीशमा सिफारिस भएका तीन जनाविरुद्ध उजुरी आह्वान

काठमाडौं । संघीय संसद संसदीय सुनुवाइ समितिले न्यायपरिषदले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका तीन जनाविरुद्ध उजुरी आह्वान गरेको छ । संसदीय सुनुवाइको प्रक्रिया थाल्दै समितिले उनीहरुविरुद्ध कुनै उजुरी भए ७ दिनभित्र निवेदन दिन आग्रह गरेको हो ।

सूचना दिने दाताले आफ्नो नाम, थर, वतन र सम्पर्क नम्बर स्पष्ट रुपमा खुलाउनुपर्ने र निजले चाहेमा परिचय गोप्य राखिने समितिले जारी गरेको सूचनामा उल्लेख छ ।
न्यायपरिषदले न्यायाधीशका लागि नीता गौतम दीक्षित, विनोद शर्मा र दिनानाथ (डीएन) पराजुलीको नाम सिफारिस गरेर भदौ २२ गते समितिमा पठाएको थियो ।

न्यायाधीशमा उच्च अदालत (तुलसीपुर) की मुख्य न्यायाधीश नीता गौतम दीक्षित, उच्च अदालत (जनकपुर) का कायममुकायम मुख्य न्यायाधीश विनोद शर्मा र नेपाल ल क्याम्पसका प्रमुख डीएन (दिनानाथ) पराजुली न्यायाधीशमा सिफारिस भएका छन् । सूचना दिन चाहनेले सिंहदरबारस्थित सुनुवाइ समितिको कार्यालयमा वा इमेलमार्फत पठाउनु पर्नेछ ।